५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

मच्छिन्द्र फेरि असफल

आर्मी (हरियो) र मच्छिन्द्रका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर सौजन्यः एन्फा

त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबको सहिद स्मारक ‘ए डिभिजन लिगमा पहिलो जित निकाल्ने लक्ष्यले दोस्रो खेलमा समेत पूर्णता पाउन सकेन।  

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्र आर्मीसँग २–० गोलअन्तरले पराजित भएको हो। दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। आर्मीले दोस्रो हाफमा आक्रामक खेल देखाउँदै बलियो टोली मच्छिन्द्रसँग अंक खोस्न सफल भएको हो। पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न असफल भएका थिए।

दोस्रो हाफको सुरुआती तीन मिनेटमै आर्मी अग्रता लिन सफल भएको थियो। कर्नर बलमा दीपक गुरुङले हेडरमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। ५९औं मिनेटमा आर्मीले पेनाल्टीबाट अग्रता दोब्बर बनायो। दीपकलाई मच्छिन्द्रका छिरिङ गुरुङले लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए। अग्रता लिएसँगै हाबी भएको आर्मीले त्यसपछि पनि केही राम्रा अवसर खेर  फाल्यो। ६२औं मिनेटमा भरत खवासको प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । बाँकी समयमा मच्छिन्द्रले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन भने  सकेन। ७८औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अभिषेक गुरुङको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। इन्जुरी मिनेटमा अभिषेकको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए।

यससँगै आर्मीले पहिलो जित हासिल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो। आर्मीले पहिलो खेल संकटासँग गोलरहित बराबरी खेलेको थियो। लगातार तीन पटक घरेलु लिगको उपाधि जित्ने लक्ष्यमा रहेको मच्छिन्द्रका लागि भने लगातार दोस्रो हारले धक्का लागेको छ। यसअघि मच्छिन्द्र जावालाखेल युथ क्लबसँग ३–१ ले पराजित भएको थियो।

लिगअन्र्तगत बिहीबारै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले न्युरोड टिम (एनआरटी)लाई २–१ ले स्तब्ध बनायो। यस जितसँगै जावलाखेलले दुई खेलमा ६ अंक जोड्दा एनआरटीले पनि लगातार दोस्रो हार भोगेको छ। यस खेलमा पनि दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल देखाएका थिए। सो क्रममा ६८औं  मिनेटमा कप्तान सीमान्त थापाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। अब्दुल अजिजको फ्रिकिकमा पेनाल्टी बक्समा क्लियर हुन नसकेको बललाई सीमान्तले नियन्त्रणमा लिँदै गोल गरेका थिए। विदेशी खेलाडी फोडे फोफानाले ७७औं  मिनेटमा गोल गर्दैजावलाखेलको अग्रतालाई दोब्बर बनाएपछि ८०औं मिनेटमा  सञ्जीव विष्टले  गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे। बाँकी समयमा एनआरटीले खेलमा फर्किन कोसिस गरे पनि सफल हुन सकेन र जावलाखेल रोमाञ्चक जित निकाल्न सफल भयो। यसअघि पहिलो खेलमा एनरआटी सातदोबाटो युथ क्लबसँग २–१ ले पराजित भएको थियो।

प्रकाशित: २६ फाल्गुन २०७९ ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App