२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

चारै खेलमा सुखद नतिजाको लक्ष्य

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले घरेलु मैदानमा बिहीबार हुन लागेको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम शृंखलाका सबै खेलमा सुखद नतिजा निकाल्दै नेपाल छनोट लक्ष्यमा रहेको बताएका छन्।

शृंखलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवा न्युगिनी (पिएनजी) र नेपालले सहभागिता जनाउँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृंखलामा नेपालले बिहीबार पिएनजीसँग खेल्दै शृंखलाको सुरुआत गर्दै छ। नेपाली टोलीका कप्तान रोहितले सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने बताएका हुन्। पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने पौडेलले बताएका हुन्।  

‘घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुनेछ। अभ्यस्त मैदानमा सबै खेलाडीले राम्रो गर्ने अपेक्षा राखेका छौं,’ कप्तान रोहितले भने, ‘शीर्ष तीनमा अटाउनका लागि गरिएको योजनाअनुसार शृंखलाका खेलहरू मोन्टी देशाईको प्रशिक्षणपछि भइरहेका छन्। घरेलु मैदानमा अन्तिम शृंखलामा पनि अपेक्षाअनुसारको नतिजा आउने विश्वास लिएका छौं।’

कप्तान रोहितले युएई भ्रमणको क्रममा चोट बोकेका कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किने समेत जानकारी दिए। यस्तै प्रशिक्षक देशाईले बिहीबारदेखि हुने चार खेलमा केन्द्रित रहेर रणनीति बनाएको र सबै खेल कठिन भएको बताए। युएई र पिएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम शृंखला भएकाले खेलहरू प्रतिस्पर्धात्मक हुने अपेक्षा राखे।

‘पहिलो र पछिका खेलमा के हुन्छ भन्दा पनि अहिलेको खेलमा के आवश्यकता छ, म त्यसमा केन्द्रित रहेको छु। पछिल्लो पटकको भ्रमणका कमीकमजोरी केलाउँदै आगामी चार खेलमा केन्द्रित रहनेछौं,’ प्रशिक्षक मोन्टी देशाईले भने, ‘युएई र पिएनजी दुवै टोली बलिया प्रतिद्वन्द्वी हुन्। लिगको अन्तिम शृंखला भएकाले खेलहरू प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको छु।’

यस्तै शृंखलामा सहभागी हुन नेपाल भ्रमणमा रहेका टोलीद्वय युएई र पिएनजीले पनि सुखद नतिजाका लागि घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने बताए। 

प्रकाशित: २५ फाल्गुन २०७९ ००:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App