८ वैशाख २०८१ शनिबार
खेल

फुटबल मैदान र ट्रयाक हस्तान्तरणसँगै संरक्षणको चुनौती

पोखरा रङ्गशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्याराफिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरणसँगै संरक्षणको चुनौती थपिएको छ। 

एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत (जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषद्लाई डेढ महिना अघि मात्रै हस्तान्तरण गरेको हो।

हस्तान्तरणसँगै १ अर्ब २८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको रङ्गशालाको भौतिक पूर्वाधार संरक्षण गर्नुपर्ने दायित्व परिषद्को काँधमा आएको हो।

‘परिषद्लाई हस्तान्तरण भएको एक दुई महिना भयो’ राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीले भने, ‘फाईनल बिलिङपछि कम्पनीले एक वर्षसम्म हुने टुटफुटको जिम्मेवारीसँगै मर्मत सम्भार गर्ने छन्।’ उनका अनुसार एक वर्षसम्म टुटफुटको मर्मत सम्भार गर्ने सहमति छ।

कम्पनीले २०७५ साल फागुन २६ गते फुटबल मैदान तथा दुई वटा प्याराफिट भत्काई नयाँ संरचना निर्माणको शिलान्यास गरिएको थियो। तत्कालीन युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले शिलान्यास गरेका थिए। २०७६ मंसिर १५–२४ मा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता तयारी नहुदैं मैदानमा खेलाईएको थियो। कम्पनीले अहिले सुर्खेत विरेन्द्रनगरपालिकामा दसौँ खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलकुदको भौतिक संरचना निर्माण गरिरहेको छ।

कम्पनीले हस्तान्तरण गरेपछि केही कर्मचारीलाई संरक्षणको लागि खटाउँदै आएको छ। हस्तान्तरण भएसँगै निर्माण गरिएको शौचालयहरूको धाराको टुटी चोरी भएको थियो। ‘प्याराफिट चुहिने भत्किने भए मर्मत सम्भार हुन्छ,’ राखेपका कर्मचारी बताउँछन्। परिषद्का कर्मचारीका अनुसार बनेको पूर्वाधार संरक्षण गर्न परिषद्ले निश्चित बजेट उपलब्ध गराउनुपर्छ। पोखरा रङ्गशाला मूल प्रवेशद्वारमा सुरक्षा गार्ड खटाईएको छ। अन्य दुई कर्मचारीलाई आन्तरिक स्रोतबाटै परिचालन गरिएको छ। 

सङ्घीय संरचनासँगै खेलकुद ऐन २०७५ निर्माण भईसकेको छ। ऐन अनुसार खेलकुदका कर्मचारीको समेत समायोजन भईसकेको छैन। ऐन अनुसार नै पूर्वाधार संरक्षण गर्न निश्चित दायरा, कार्यविधि बनाउनुपर्ने उल्लेख गरे। ‘कार्यविधि बनाएर खेल मैदान, ट्रयाकको शुल्क तोक्ने, त्यही शुल्कबाट पूर्वाधार संरक्षण र मर्मत सम्भार गर्नुपर्छ,’ ती कर्मचारीको भनाई थियो। फुटबल तथा एथलेटिक्सको नयाँ पूर्वाधार बनेपछि स्पेनिस टोली र गण्डकी ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। आयोजना हुँदा स्पेनिस टोलीले शुल्कबापत ५०–५५ हजार रुपैयाँ तिरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रन्जित जनाए।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालाभित्रैको बहुउद्देश्यीय कभर्ड हलको दैनिक १० हजार रुपैयाँ शुल्क लिदैं आएको छ।

‘अन्तर्राष्ट्रियस्तरको मैत्रीपूर्ण, क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताको छुट्टाछुट्टै शुल्क तोकिएको छ,’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले भने, ‘क्लब स्तरीय फुटबल प्रतियोगिताको लागि दैनिक १० देखि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ।’ 

उनका अनुसार एथलेटिक्स ट्रयाक उपयोग हुदैं आए पनि शुल्क ठ्याक्कै तोकिएको अवस्था भने छैन।  

प्रकाशित: २३ फाल्गुन २०७९ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App