५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सान्ता क्रुजले सन्यास लिने

आसुनसियोन- पाराग्वेका भेट्रान स्ट्राइकर रकी सान्ता क्रुजले विश्वकप छनोटका दुई खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। पेरु र बोलिभियाविरुद्ध हुने विश्वकप छनोटपछि उनले संन्यास लिने मंगलबार बताएका हुन्।

३५ वर्षे क्रुजले व्यावसायिक खेलजीवन भने पहिलो क्लब ओलम्पियाबाट टुंग्याउने बताएका छन्। सन् २०१८ विश्वकप छनोटअन्तर्गत बिहीबार पेरु र मंगलबार बोलिभियासँग हुने खेलका लागि मंगलबार घोषित टोलीमा प्रशिक्षक फ्रान्सिस्को आर्सले क्रुजलाई पनि टोलीमा समावेश गरेका छन्।

'यो बोलावटसँगै मैले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय गरेको हुँ,' मंगलबार टोलीको अभ्यासपछि क्रुजले भने, 'यो निर्णयमा पुग्न कठिन थियो। तर कुनै न कुनै बिन्दुमा यो निर्णय लिनैपर्ने थियो। अब म क्लबका लागि मात्र समर्पित भएर खेल्ने सोचमा पुगेँ।'

क्रुज पाराग्वेका सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय ११ खेलमा ३२ गोल गरेका थिए।

'अझै खेल्न सक्ने अवस्थामा हुँदा संन्यास घोषणा गर्न पाउँदा म खुसी छु,' बायर्न म्युनिख, म्यानचेस्टर सिटी, ब्ल्याकबर्न रोभर्स, रियाल बेटिस, मालागा र क्रुज अजुलबाट व्यावसायिक खेलजीवन बिताइसकेका क्रुजले भने।

क्रुजले विश्वकप छनोटका दुई खेल खेल्न चाहे पनि त्यसको निर्णय भने आर्समा निर्भर रहेको बताए। आर्स र क्रुजले २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा सँगै खेलेका थिए।

'हामी परिपक्व र व्यावसायिक मान्छे हौं,' क्रुजले भने, 'मैले अन्तिम खेल खेलौं नखेलौं त्यो भन्दा  बढी हाम्रो लागि फुटबल महत्वपूर्ण हो।'

पाराग्वेले ब्राजिलमा दुई वर्षअघि सम्पन्न विश्वकपमा छनोट हुन असफल भएको थियो। दक्षिण अमेरिकी १० राष्ट्रसम्मिलित समूहमा पाराग्वे सातौं स्थानमा छ। पाराग्वले १० खेलमा १५ अंक जोडेको छ। समूहको शीर्ष स्थानको ब्राजिलभन्दा पाराग्वे ६ अंकले पछाडि छ। समूह चरणका शीर्ष ४ टोली रुसमा दुई वर्षपछि हुने विश्वकपका लागि साझै छनोट हुनेछन्। पाँचौं स्थानमा रहने टोलीले अन्तरमहादेसीय प्लेअफ खेल्नुपर्ने हुन्छ।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App