६ वैशाख २०८१ बिहीबार
खेल

अन्तर विद्यालय महिला क्रिकेट: महेन्द्र र लक्ष्मी मावि फाइनलमा

विराटनगरको महेन्द्र मावि र जहदाको लक्ष्मी मावि विराटनगरमा जारी अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर– ६ स्थित मैदानमा भएको खेलमा विजयी हुँदै महेन्द्र मावि र लक्ष्मी मावि  फाइनलमा पुगेका हुन्।

आइतबार सम्पन्न पहिलो खेलमा विराटनगरको बालिका माविले सत्यनारायण माविलाई ९ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ११ ओभरमा ८ विकेट गुमाई ६३ रनको बनाएको थियो। जसमा आकृति चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन्। बालिकाकी वुमन अफ द म्याच पिंकी राजवंशीले ३ विकेट लिँदा रचना उराँवले २ विकेट लिइन्।

६४ रनको विजयी लक्ष्य पछ्याएको बालिकाले ७ दशमलव २ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो। जसमा मुस्कान ठाकुरले नट आउट १५ रनको योगदान दिएकी थिइन्। सत्यनारायणकी आकृति चौधरीले १ विकेट लिइन्।

दोस्रो खेलमा जहदाको लक्ष्मी माविले विराटनगरको सरस्वती  माविलाई ६ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। लक्ष्मीले लगातार दुई खेलमा विजयी हुँदै समूह ए को टप भएर फाइनलको यात्रा तय गरेको हो।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई ९२ रन बनाएको थियो। जसमा पूर्णिमा राजवंशीले २१ रन बनाउँदा प्रतिभा मण्डलले १२ रन बनाइन्। लक्ष्मीकी वेदिका राजवंशी २ विकेट लिइन्। ९३ रनको लक्ष्य पछ्याएको लक्ष्मीले १३ दशमलव ४ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो। जसमा वुमेन अफ द म्याच सृजना राजवंशीले २८ रन जोड्दा फुलकुमारी राजवंशीले १६ रनको जोडिन। सरस्वतीकी मुस्कान भगतले २ विकेट लिइन्।

तेस्रो खेलमा महेन्द्र मावि र सत्यनारायण बि बिचको खेल टाइ भएपछि महेन्द्रले ३ खेलमा १ मा जित र १ मा टाइ भएपछि ३ अंकका साथ फाइनलमा प्रवेश गरेको हो। टस हारेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १५ ओभरमा ४ विकेट गुमाई ९७ रन बनाएको छ। जसमा वुमेन अफ द म्याच अम्विका राजवंशी ले १९ रन बनाउँदा मनिका राजवंशीले १३ रन र रविना राजवंशीले १० योगदान दिइन्। सत्यनारायणकी दिक्षा परियार र दिपिका साहले २–२ विकेट लिइन्। ९८ रनको विजयी लक्ष्य पाएको सत्यनारायणले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९७ बनाए पछि खेल टाई भएको हो।

जसमा खुश्वू रामले सर्वाधिक १६ रनको योगदान दिइन्। महेन्द्रकी रविना राजवंशी, भूमिका राजवंशी, मनिका राजवंशी र स्नेहा सहनीले १–१ विकेट लिइन्।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरूको सहभागी रहेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७९ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App