विराटनगरमा जारी अन्तर विद्यालय हब लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती मावि विराटनगरले जितेको छ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा जारी प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सत्यनारायण माविलाई ३ विकेटले पराजित गर्दै सरस्वतीले उपाधि जितेको हो।
टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सबै विकेट गुमाई १ सय २० रनको स्कोर बनाएको थियो। जसमा सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए। सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँदा रामनारायण यादव, रोहन मण्डल र सुमन यादवले समान २–२ विकेट लिए।
१ सय २१ रनको लक्ष्य पछ्याएको सरस्वतीले २७ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। जसमा रामनारायण यादवले अविजित ४० रन जोड्दा आयूस सेन्चुरीले २६ रन, दिपेन्द्र राजवंशीले १९ रन र अविशेक साहले १० रन जोडे। सत्यनारायणका आकाश यादवले ३ विकेट लिँदा अमर यादव, कृष्ण यादव र राहुल सरबरियाले १–१ विकेट लिए।
फाइनल खेलको म्यान अफ फाइनल सरस्वतीका अलराउण्डर खेलाडी रामनारायण यादव घोषित भए। यादव प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत भए। उत्कृष्ट ब्याटर बुढानीलकण्ठ स्कूलका अर्नभ भट्टराई, उत्कृष्ट बलर सरस्वतीका रोहन मण्डल, उत्कृष्ट विकेट किपर सत्यनारायणका दिपक यादव तथा उदयमान खेलाडी सत्यनारायणका आकाश यादव भए।
फागुन ११ गतेदेखि भएको लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरका ८ वटा निजी र सामुदायिक विद्यालय सहभागी थिए।
विजयी खेलाडीलाई कोशी प्रदेशका सांसद पूर्व आन्तरिक तथा कानुन मन्त्री केदार कार्की, नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पारस लुनिया, क्यानका केन्द्रीय सल्लाहकार नरेश श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी महमद साद वाबु र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए।
प्रकाशित: १८ फाल्गुन २०७९ १३:५४ बिहीबार