४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

रोकिएन एन्फा विवादको शृंखला

सुशासन र पारदर्शिताको चर्को नारासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व सम्हाल्न आएका पंकजविक्रम नेम्बाङमाथि लाग्दै आएको आरोप उनी आफ्नो स्वार्थ समूहभन्दा माथि उठ्न नसक्ने रहँदै आएको छ।  

जुन कुराको पुष्टि बिहीबारको एन्फा कार्यसमिति बैठकले पनि गरेको छ। आफ्ना मागको सम्बोधन नगरेको भन्दै तीन उपाध्यक्षसहित ११ सदस्यले बहिष्कार गरेको बैठकले दूरगामी असर पर्ने निर्णय गरेसँग नेम्बाङ पुन विवादको घेरामा तानिएका छन्।

त्यसो त नेम्बाङले आफू नेतृत्वमा आएपछिको दोस्रो बैठकमै दामोदर भट्टराईलाई सह महासचिवमा नियुक्त गर्न खोजेका थिए। तर २१ केन्द्रीय सदस्यमध्ये वरिष्ठ उपाध्यक्षसहित १४ केन्द्रीय सदस्यले जर्मन नागरिक नवीन पाँडेलाई दिइएको अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट बर्खास्त गर्नुपर्ने भन्दै बैठक स्थगित गरेपछि भट्टराईको नियुक्ति तत्कालका लागि टरेको थियो। नेम्बाङले विवाद साम्य पार्न पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट हटाएर आफ्नो सल्लाहकारको जिम्मेवारी सुम्पिएका थिए। पाँडेका नजिकका पात्र मानिएका भट्टराई एन्फाको निर्वाचन समितिमा रहेर काम गरिसकेका छन्। नेम्बाङमाथि असन्तुष्ट पक्षका एक सदस्यको आरोप छ, ‘चुनावमा दामोदर भट्टराईले गरेको सहयोगको गुन अध्यक्षज्यूले सहमासचिवमा नियुक्त गर्दै तिर्नुभयो।’

मुख्य प्रशिक्षकमा रेन्जो अल्बेर्टो एनेस

साथै आजको बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका ३८ वर्षीय प्रशिक्षक रेन्जो अल्बेर्टो एनेसलाई नियुक्त गरेको छ। एक सय ६८ जनाको आवेदनमध्येबाट पदपूर्ति कमिटीले २० जनाको नाम सर्ट लिस्ट गरेको थियो। तीमध्येबाट युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक एनेसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। उनको प्रशिक्षणमा गोकुलम केरलाले दुई पटक आई लिग जितेको थियो। उनी हाल इन्डियन सुपर लिगको क्लब नर्थ इस्ट युनाइटेडको प्रशिक्षकमा कार्यरत थिए। उनले २०१९ मा उत्तर अमेरिकन राष्ट्र बेलिजको राष्ट्रिय टोली सम्हालेका थिए।

विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी गरी तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत ११ सदस्यले एन्फा कार्यसमिति बैठकमा महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तगीसहित विभिन्न ५ वटा एजेन्डा थप गर्न निवदेन दिएका थिए। तर नेम्बाङले पूर्वनिर्धारित १९ एजेन्डामाथि मात्र छलफल हुने अडान लिएपछि बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन। दुई पक्षबीच बैठकस्थलमै हात हालाहालसमेत भएको बताइएको छ।  

असन्तुष्ट पक्षले आफ्ना माग सम्बोधन गर्र्नुपर्ने र महासचिव राई तथा कोषाध्यक्ष जोशीलाई बैठकस्थलबाट बाहिर निकाल्नुपर्ने अडान दोहोर्याएका थिए।  

तर नेम्बाङले बहुमत सदस्यको असन्तुष्टिका बीच बैठक सञ्चालन गरेपछि तीन उपाध्यक्षसहित ११ जना बैठकस्थलबाट बाहिरिएका थिए। असन्तुष्ट सदस्यले उपस्थिति पुस्तिकामा समेत हस्ताक्षर गरेका थिएनन्। तर उपस्थिति पुस्तिकामा आफ्नो हस्ताक्षर रहेको थाहा पाएसँगै टीका लामा र भरतबुढ थापाले भने नेम्बाङ पक्षले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएका छन्।  

आजको बैठकले सहमहासचिवमा भट्टराईसहित अरूणमान जोशी र वसन्त अर्याल तथा सहकोषाध्यक्षमा पूर्णबहादुर चित्रकारलाई नियुक्त गरेको छ।

बैठकले राष्ट्रिय महिला लिगको दोस्रो चरण सञ्चालन नहुने र यसअघि शीर्ष स्थानमा रहेको टोलीलाई नै विजेता घोषणासमेत गरेको छ। त्यस्तै बैठकले चैत ६ गतेदेखि १७ गतेसम्म नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप आयोजना गर्ने निर्णय गरेको छ।  

प्रकाशित: १८ फाल्गुन २०७९ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App