८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ।

मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। जितसँगै आर्मीले नगद १३ लाख पाएको छ भने उपविजेता बनेको मछिन्द्रले ७ लाख प्राप्त गरेको छ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलमा थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो।

टाईब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक समित श्रेष्ठले रोकेका थिए। टाई ब्रेकरमा आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका रक्षक विशाल श्रेष्ठले रोके।

प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले पटक पटक पाएको अवसर सदुपयोग गर्न सकेन। तुलनात्मक रूपमा राम्रो खेल प्रदर्शन गरेको मछिन्द्रले गोल गर्न भने सकेन। खेलको ७३ औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएको थिए।

खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए। उनीहरूले जनही २५ हजार पाए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए। उनले नगद एक लाख रुपैयाँ पाए।

प्रकाशित: १६ फाल्गुन २०७९ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App