कर्णाली प्रदेशमा तय भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति पाँचौं पटक तोकिएको छ।
चार पटकसम्म आयोजककै कमजोरीले सरेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकेकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाडी तथा खेलसँग सम्बन्धित सरोकारवाला अझै विश्वस्त छैनन्। पछिल्लो समय देशमा आएको विनाशकारी बाढीपहिरो प्रतियोगिता रोक्ने कारण बन्ला! आयोजकले नयाँ मिति आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि तय गरे पनि खेल सञ्चालन तालिका अझै सार्वजनिक गर्न सकेको छैन। जसका कारण विगतमा चार पटक तोकिएको मिति स्थगन गर्नुपरेको थियो। यद्यपि मूल आयोजक समितिको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले निर्धारित समयमै प्रतियोगिता हुनेमा ढुक्क हुन आग्रह गरेको छ।
कर्णालीमा अर्को समस्या होटल व्यवस्थापनदेखि हिउँसम्म रहेको छ। तोकिएको मितिभन्दा ढिला हुँदा हिमाली जिल्लामा गरिने खेलकुद हिमपातले असर पर्न सक्ने जनाइएको छ।
मुख्य आयोजक संघीय सरकारको तयारी अभाव र निर्णय कार्यान्वयनमा भएको ढिलासुस्तीका कारण लामो समयदेखि अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अव पनि हुनेमा ढुक्क नहुनु नयाँ होइन। चार पटकसम्म खेलकुदको मिति तय गरिए पनि तयारीको कमजोरीका कारण स्थगन हुन पुगेको थियो। सरकारले फेरि नयाँ मिति तोकेर खेलाडीहरूमा आशा सञ्चार गरे पनि आयोजना हुने कर्णालीमा भौतिक पूर्वाधारतर्फ ध्यान दिइएको छैन। जिल्लाहरूमा बजेट पुग्न सकेको छैन। जसका कारण आवश्यक पूर्वाधार निर्माण समयमै हुन सकिरहेको छैन। प्रदेशभर प्रतियोगितामा छान्नका लागि खेलकुदका गतिविधिहरूको तयारी गरे पनि अन्य आवश्यक तयारी हुन सकेको छैन। दसैं, तिहार र छठले तयारीमा रोकावट हुँदा तोकिएको मितिमा असर पर्न सक्ने खेलाडीहरू बताउँछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्षसमेत रहेका तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा १९ कात्तिक बसेको बोर्ड बैठकले प्रतियोगिता १-७ फागुन सञ्चालन गर्ने चौथो मिति तय गरे पनि त्यसअनुसार आवश्यक कानुनी, प्रशासनिक र खरिद प्रक्रिया अघि बढ्न नसक्दा स्थगत भयो। त्यति बेला तत्कालीन मन्त्री गुप्ता र सदस्यसचिवको फरक फरक अभिव्यक्तिले तोकिएको मितिमा प्रतियोगिताको भविष्य थप अनिश्चित बनेको थियो।
२०८२ को फागुनमा अर्थ मन्त्रालयले रोक्का राखेको बजेटसमेत फुकुवा नगर्दा झन् अन्योल भएको थियो। त्यति बेला सार्वजनिक खरिद ऐनअनुसार आवश्यक सेवा तथा सामग्री खरिदका लागि कम्तीमा ३५ दिनको बोलपत्र प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेकाले १-७ फागुनभित्र प्रतियोगिता आयोजना गर्ने सम्भावना कमजोर देखिएको थियो। त्यसमाथि ३ माघदेखि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू हुने र अघिल्लो सरकारको कार्यकाल २१ फागुनसम्म मात्रै रहने भएकाले तोकिएको समयमा मात्रै होइन, चैतभित्र पनि प्रतियोगिता आयोजना कठिन देखिएको थियो। यसरी २०८२ फागुनमा हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न सरकारकै कमजोरीका कारण स्थगन हुन पुगेको थियो।
प्रतियोगिताको सह-आयोजक कर्णाली प्रदेश सरकारले पनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न सकेन। १ अर्ब ५९ करोड रुपैयाँ लागतमा निर्माणाधीन कर्णाली प्रादेशिक रंगशाला निर्माण सम्पन्न उन्मुख पुगेको छ। ६ पुस २०७७ मा नियुक्त परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालको ६ पुस २०८१ मा कार्यकाल सकिएपछि परिषद् नेतृत्वविहीन हुँदा निर्माण प्रक्रिया प्रभावित भएको हो।
कर्णालीले ३ कात्तिक २०७९ मा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट १०औं प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको थियो। त्यसयता प्रतियोगिताको मिति २-८ मंसिर २०८१, २३-३० चैत २०८१, ३-१० जेठ २०८२ र पछिल्लो पटक १-७ फागुन गरी चार पटक तोकिए पनि पूर्वाधार निर्माण, मौसम प्रतिकूलता र तयारी अभावका कारण प्रत्येक पटक स्थगित हुँदै आएको छ।
प्रतियोगिताको विषयलाई लिएर त्यति बेला संघीय सरकार र कर्णाली प्रदेश सरकारबिच मतभेद पनि चुलिएको थियो। तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलले पटक पटक मिति घोषणा गरेर पनि कार्ययोजना नल्याएको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका थिए। रंगशालाकै कारण खेल प्रभावित नहुने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री कँडेलले खेल सञ्चालन तालिका सार्वजनिक नभएको कुरा उठाइरहेका थिए।
लगातार चार पटक मिति घोषणा भएर पनि प्रतियोगिता हुन नसक्नुले संघीय सरकारको तयारी, कानुनी प्रक्रिया, बजेट व्यवस्थापन र प्रदेशसँगको समन्वयमा गम्भीर कमजोरी देखिएको थियो। आवश्यक पूर्वाधार, प्रशासनिक निर्णय र खरिद प्रक्रिया समयमै पूरा नभएसम्म कर्णालीमा पहिलो पटक आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुन्छ भन्ने अझै निश्चित हुन सकेको छैन।
डोल्पाबाहेक कर्णालीका नौ जिल्लामा चौबीस खेल खेलाउनका लागि पूर्वाधार तयारी अवस्थामा राखिए पनि संघीय सरकारकै कारण विगतमा खेल समय सर्दै आएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्व सदस्यसचिव विश्वमित्र सन्ज्यालले बताए। कर्णाली प्रदेश रंगशालामा पनि मेरो पालामै ९९ प्रतिशत काम सकेर फाइनल भुक्तानी लिएर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण हुन बाँकी रहेको अवस्था रहेको पूर्वसदस्यसचिव सन्ज्यालले बताए।
१०औं खेलकुद प्रतियोगिताका लागि प्रदेशले विगतदेखि नै आफ्नो तयारी गरिरहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव रोशनी श्रेष्ठले बताइन्। कुन ठाउँमा कुन खेल खेलाउने केन्द्रबाट आउने कमिटीले सम्भाव्यता अध्ययन गरेमा थप पूर्वाधारका लागि प्रदेशले बजेट व्यवस्थापन गरेर नयाँ तोकिएको समयभित्र खेलकुद प्रतियोगिता गर्ने प्रदेश सचिव श्रेष्ठले बताइन्।
विगतमा स्थगित हुनुको कारण
कर्णाली प्रदेशमा आयोजना हुने तय भएको राष्ट्रिय खेलकुद प्रतियोगिता आवश्यक पूर्वतयारी पूरा हुन नसकेपछि चार पटक स्थगित गरिएको थियो। प्रतियोगिता स्थगित हुनुका पछाडि भौतिक पूर्वाधारको अपूर्णता, प्रतिकूल मौसम, प्रशासनिक नेतृत्वको अभाव तथा संघ, प्रदेश र स्थानीय तहबिचको समन्वयमा देखिएको कमजोरीलाई मुख्य कारणका रूपमा देखाइएको छ।
मुख्य आयोजनास्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक रंगशाला तथा अन्य खेलकुद पूर्वाधारहरूको पहिलो र दोस्रो पटक निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न हुन नसक्दा प्रतियोगिताको तयारी प्रभावित भएको हो।
त्यसै गरी, कर्णाली प्रदेश खेलकुद विकास परिषद् लामो समयसम्म पदाधिकारी तथा सदस्यसचिव नियुक्त नहुँदा प्रशासनिक र व्यवस्थापकीय कार्य प्रभावित भएको थियो। यसको प्रत्यक्ष असर प्रतियोगिताको समग्र तयारीमा परेको बताइएको छ। अहिले प्रदेश सरकारले ढिला गरी २०८२ चैत्र तेस्रो हप्ता नयाँ सदस्यसचिव नियुक्त गरेको थियो।
व्यग्र प्रतीक्षामा बसेका आम खेलाडीका लागि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता बारम्बार सर्नुले निराश बनाए पनि नयाँ मितिले खेलकुद हुनेमा आशा पलाएको नेपाल भलिबल संघ कर्णाली प्रदेशका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए।
यस्तै, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबिच आवश्यक समन्वयको अभाव, बजेट व्यवस्थापनमा भएको ढिलाइ तथा पूर्वतयारीका काम समयमै सम्पन्न हुन नसक्नु पनि प्रतियोगिता स्थगित हुनुका प्रमुख कारण बनेका खेलकुद क्षेत्रका अधिकारी बताउँछन्।
प्रकाशित: २० आश्विन २०८३ ०७:२९ मंगलबार





