१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको जित लय निरन्तर

कुवेतविरुद्ध ६विकेट लिएका नेपालका आकाश चन्द म्यान अफ दी म्याच ट्रफीका साथ। तस्बिर सौजन्य : क्यान

ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको शतकप्रेरित नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोट प्रतियोगितामा जित लयलाई दोस्रो खेलसम्म निरन्तरता दिएको छ।  

शनिबार अजमानको मलेक क्रिकेट मैदानमा नेपालले कुवेतमाथि २ सय ४३ रनको रबाफिलो जित निकालेको छ। नेपालले प्रस्तुत गरेको तीन सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा मात्र एक सय रनमा सीमित भयो। ओपनर हिट किशोरभाइ हिन्सु र ज्युड किस्टोफर साल्धानाले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेसँगै कुवेतले सुखद सुरुआतको संकेत गरेको थियो। तर, नेपालका आकाश चन्दले किशोरभाइलाई पवेलियन फर्काउँदै यो साझेदारी तोडे। किशोरभाइले १६ बलमा तीन चौकाको मद्दतमा १६ रन जोड्दा साल्धानाले २४ बलमा तीन चौकाको मद्दतमा २६ रन जोडे।

त्यस्तै युसुफ मोहमेदले ४२ बलमा तीन चौकासहित १९ रन बनाए। कुवेतले बाँकी ६६ रन जोड्दा बाँकी ९ विकेट नै गुमाउन पुग्यो। आकाशसामु निरीह देखिएको कुवेतका तीन खेलाडीबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आकाशले ९.५ ओभरमा ४३ रन खर्चंदै ६ विकेट लिए। हेमन्त धामी र दीपेश कँडेलको नाममा समान दुई विकेट रह्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ४३ रनको विशाल योगफल खडा गरेको थियो।  

नेपालका लागि अर्जुनले १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन तथा देवले १ सय १७ बलमा ९ चौका र तीन छक्कासहित १ सय २५ रन जोडे। ४५–२ को स्थितिमा ब्याटिङका लागि आएका देवसँग अर्जुनले तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलतर्फ अग्रसर गराए। विशालविक्रम केसीले २३ रन, दीपक बोहोराले १९ रन बनाएर आउट हुँदा दीपकप्रसाद डुम्रे २० रनमा नटआउट रहे। नेपालले अतिरिक्त २९ रन पायो। दुई खेलमा चार अंकसहित नेपाल दोस्रो स्थानमा रहँदा युएई समान खेलबाट समान अंक भए पनि नेटरनरेटका आधार शीर्ष स्थानमा छ।

दुई खेलबाट एक खेल जितेको हङकङ तेस्रो स्थानमा छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएईले प्रतिस्पर्धा गरिरहेका छन्। सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोली आगामी सन् २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु–१९ मा सीधै छनोट हुनेछ। नेपालले हङकङविरुद्ध सोमबार तेस्रो, मंगलबार मलेसियासँग चौथो र फागुन १८ गते आयोजक युएईसँग अन्तिम खेल खेल्नेछ। नेपालले शुक्रबार पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो। शनिबार नै भएका अन्य खेलमा युएईले हङकङलाई १ सय ६३ रनले हरायो।

प्रकाशित: १४ फाल्गुन २०७९ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App