विद्यार्थीलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले विराटनगरमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ। क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा नेपाल क्रिकेट फाउण्डेशनले प्रतियोगिता आयोजना गर्न लागेको हो।
नेपाल क्रिकेट फाउण्डेशनले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन ११ गते देखि १८ गते सम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। प्रतियोगितामा विराटनगरका विभिन्न आठ वटा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने छन्। इन्टर स्कुल लिगको आधारमा आयोजना गर्न लागिएको प्रतियोगिताको नाम ‘विराटनगर हब इन्टर स्कुल टुर्नामेन्ट’ राखिएको छ।
विराटनगर ६ स्थित खेल मैदानमा आयोजना गर्न लागिएको नेपाल क्रिकेट फाउण्डेशनका कार्यकारी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको लिग खेल २५ ओभर र सेमिफाइनल तथा फाइनल खेल ३० ओभरको हुने आयोजक नेपाल क्रिकेट फाउण्डेशनले जनाएको छ। विजेता टिमका खेलाडीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।
नेपाल क्रिकेट फाउण्डेशनले विराटनगरका विभिन्न विद्यालयमा कोचको व्यवस्था गरी विद्यार्थीहरूलाई क्रिकेटको प्रशिक्षण पनि दिइरहेको जनाएको छ। विशेष गरी विद्यालयका छात्राहरूलाई लक्षित गरी प्रशिक्षण दिइरहेको श्रेष्ठले जानकारी दिए। मार्च ३ देखि विराटनगरमै अन्तर विद्यालय छात्रा क्रिकेट पनि सञ्चालन गर्ने तयारी गरिएको श्रेष्ठले बताए।
प्रकाशित: ९ फाल्गुन २०७९ १२:५६ मंगलबार





