मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा जारी पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल भोलि बुधवार हुँदैछ।
नेपालको चर्चित 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लब उपाधि भिडन्तका लागि तम्तयार रहेका छन्। मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। यो पटक मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ।
यस गोल्डकपको फाइनलमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। २०६४ सालमा भएको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो। त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो। उक्त वर्ष प्रतियोगिताको उपाधि घरेलु टिम मकवानपुर ११ ले जितेको थियो। ०७७ र ०७८ मा त्रिभुवन आर्मी फुटबल क्लबले यस प्रतियोगिताको उपाधि जितेको थियो।
अघिल्लो पटक उपाधि जितेका टोलीमध्ये थ्रीस्टारले यस वर्ष सहभागिता जनाएको छैन भने मकवानपुर र आर्मी प्रतियोगिताबाट बाहिरिसकेको छ। फाइनलको अघिल्लो दिन मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान तथा प्रशिक्षक र म्यानेजरले उपाधि जित्ने दाबी गरेका छन्।
शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले बलियो टिम भएकोले उपाधि जित्ने दाबी गरे।
‘चितवनमा २ महिनाको क्लोज क्याम्प राखेर लिग तयारी गरेका हौँ। हाम्रो टिम राम्रो छ, केही खेलाडी घाइते भए पनि बलियो टोली फाइनलमा उतार्नेछौँ’, उनले भने, ‘प्रतिद्वन्द्वी मनाङ पनि बलियो टोली हो। यो पटक मकवानपुर गोल्ड कप हामी जित्नेछौँ।’
यस्तै शेर्पाका कप्तान विश्वास श्रेष्ठले तीन वटा म्याच जितेर फाइनल आएको स्मरण गर्दै उपाधि जित्नेमा कुनै शङ्का नभएको बताए। बलियो एभिनियर एफसीलाई हराएर फाइनल प्रवेश गरेको कारण खेलाडीमा उच्च मनोबल रहेको उनको भनाई थियो।
यता मनाङका म्यानेजर शिव लामाले 'ए' डिभिजन लिगको अभ्यासका रूपमा खेलमा सहभागी भए पनि अब उपाधिको दाबेदार भएको बताए।
‘हामीले पछि सम्मलाई सोचेर युवाहरूको टिम बनाएका छौँ’, उनले भने, ‘विदेशी खेलाडीहरूले पनि सुधारिएको खेल देखाइरहेका छन्, हामी फाइनल जित्नेछौँ।’
मनाङका कप्तान दीप कार्कीले आफ्नो टिममा फुटबलमा देखिरहेकै अनुहार र युवा खेलाडी भएकोले जित्न कुनै समस्या नहुने बताए।
‘अघिल्ला खेल हेर्दा टिम सेट हुन बाँकी देखिएको हो। फाइनलमा सुधार गरेर खेल्नेछौँ’, उनले भने। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट बाइक) र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
प्रकाशित: ९ फाल्गुन २०७९ १२:१७ मंगलबार





