७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सेमिफाइनलको यात्रामा पुलिसका प्रिन्स र विष्णु

१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलको यात्रामा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विष्णु कटुवाल रहे। विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका हुन्।  

बिहीबार भएको खेलमा विष्णुले एपिएफका देवराज रानालाई २४–२२, २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनील जोशीलाई २१–११, २१–८ ले पराजित गरे। त्रिभूवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनले पनि सेमिफाइनल पुगे। प्रफुलले कास्कीका विधान अधिकारीलाई २१–१४, २१–१२ र रुकेशले एपिएफका क्षितिज खनाललाई २२–२०, २१–१३ ले पराजित गरे।  

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १२ वरियता बाहेकको महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रसिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१–१६, २१–१३ ले पराजित गरी गरिन्। रसिलाको सेमिफाइनलमा एपिएफकी जेसिका गुरुङ प्रतिस्पर्धा हुनेछ। दुवै जनाबीच इटहरीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा भेट भइसकेको छ। त्यस खेलमा जेसिकाले जितेकी थिइन्। आर्मीकी अनुमाया राईले पुलिसकी नीता लम्साललाई २१–१६, २१–१५ ले पराजित गर्दै सेमिफाइनलमा आर्मीकै प्राथना देउवासँग प्रतिस्पर्धा हुनेछ। प्राथनाले आर्मीकै अमिता गिरीबाट वाकओभर प्राप्त गरिन्।  

त्यस्तै, पुरुष एकल शीर्ष वरियता १६ देखि बाहेकतर्फ आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१–१८, २२–२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–८ ले पराजित गर्दै सेमिफाइनलमा पुगे। एपिएफका प्रनिश सिंह ठकुरीले मोरङका विवेक चौधरीलाई २१–८, २१–१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१–१४, २०–२२, २१–५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे।  

त्यसैगरी, पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाइनलमा पुगे। साउदले आर्मीका अभय महरालाई २१–१४, २१–९, रानाले आर्मीका कविर केसीलाई १६–२१, २१–१८, २१–१३, रैनीले मोरङका सुप्रिम पन्तलाई २१–१७, २१–११ र मल्लले उदयपुरका विनय चौधरीलाई २६–२४, २१–१८ हराए।  

यस्तै, महिलातर्फ आर्मीकी रिहाना शेरचनले मोरङकी भावना गुरुङबाट वाकओभर प्राप्त गर्दै सेमिफाईलमा पुगिन्। कास्कीकी निभा राईले पिएसबिसीकी आयुषा नेपाललाई २१–१८, २३–२१, आर्मीकी टिशा रानी शाक्यले बेलटार ब्याडमिन्टन एकेडेमीकी नितिशा रेयका मगरलाई २१–१७, २१–१० र ताप्लेजुङकी नुमा लिम्बूले एपिएफकी रञ्जु रानालाई ११–२१, २२–२०, २१–१९ मा जित्दै सेमिफाइनलमा पुगे।  

यसैगर, ५५ वर्षमाथिको युगलतर्फ सुनसरीका गणेश राई र भोजपुरका दानबहादुर तामाङको जोडी, कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडी, पाँचथरका रामराज आङ्दम्बे र संजय भक्तराजको जोडी तथा बिबिसीका केशव कार्की र आरके सिंहको जोडी पनि सेमिफाइनलमा पुगे।  

प्रकाशित: ५ फाल्गुन २०७९ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App