२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अलपत्र महिला लिग

जिम्मेवार हुन सकेन एन्फा

नेपाली फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वार्थलिप्त नहुँदो हो त राष्ट्रिय महिला लिग सम्पन्न भएर नयाँ लिगको मिति घोषणा भइसकेको हुने थियो।  

तर विडम्बना गत चैतमा चितवनमा पहिलो चरणको लिग समापन गर्दै वैशाखमा विराटनगमा दोस्रो चरणको लिग घोषणा गरेको एन्फा आफ्नो निर्णयमा अडिग रहेन। तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आआफ्नो प्यानल बनाएर असारमा तय चुनावी साधरणसभामा होमिँदा महिला लिग अलपत्र बन्यो। असारमा पूर्वअध्यक्ष गणेश थापाको आशीर्वाद प्राप्त नेम्बाङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भए। नेपाली फुटबलमा ठूलै छलाङ मार्ने दाबी गरेको नेम्बाङको आगमनले पनि महिला फुटबललाई न्याय प्रदान गर्न सकेन। उनको कार्यसमिति लिगको दोस्रो चरणको आयोजना गर्नबाट पछि हट्यो। कार्यसमिति बैठकले नै महिला लिगको दोस्रो चरणको मिति घोषणा गर्ने निर्णय भए पनि अहिलेसम्म मिति घोषणा भएको छैन।  

यसबीच नेपाली महिला फुटबल टोली असोज पहिलो साता काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बन्यो। सेमिफाइनलमा नेपालले भारतसँगको शृंखलाबद्ध हारमा पूर्णविराम लगाएको थियो। तर फाइनलमा बंगलादेशलाई नतिजा सुम्पियो। केही महिनाअघि मात्रै नेपालले बंगलादेशमा सम्पन्न साफ महिला यु–१५ च्याम्पियनसिपको उपाधि जित्यो भने बिहीबार बंगलादेशमै सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बन्यो। नेपाली सिनियर महिला टोली सोमबार दुई मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्र्दै छ। नेपाली यु–१७ टोली पनि साफ महिला च्याम्पियनसिप र एसियन कप छनोटको तयारी खेल्दै छ। नेपाली सिनियर महिला टोलीले भारतविरुद्धको मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोटको तयारीका रूपमा लिएको छ।  

तर महिला फुटबलमा एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए पनि एन्फा महिलाका लागि घरेलु प्रतियोगिताहरू आयोजना गर्नबाट भने चुकेको छ।  

आइतबार एन्फा मुख्यालय सातदोबाटोमा आयोजित सिनियर टोलीको बिदाइमा एन्फामा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफूहरू छलफलमा रहेको भारतबाट फर्किएपछि महिला लिगको बारेमा निर्णय भइसक्ने आश्वासन दिए। खड्काको भनाइले महिला लिग तत्काल आयोजना हुने संकेत छैन। उनको भनाइ महिला खेलाडीका लागि केवल खोक्रो आश्वासन मात्र हो।

‘एन्फा स्वयंले पनि महिला फुटबलमा निश्चित योजना ल्याउन सकेको छैन, यसमा हाम्रो पनि कमीकमजोरी भयो होला,’ खड्काले भने, ‘तर हामी लिगमा पुरानै संरचनालाई निरन्तरता दिने वा नयाँ ढ्रगबाट लिग अघि बढाउने विषयमा छलफलमा छांै। तपाईहरू भारतबाट फर्किंदासम्म हामी एउटा निर्णयमा पुग्नेछौं।’

खड्काले पटकपटक कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई सिनियर महिला खेलाडीका साथै उमेरसमूहका खेलाडीहरूले खेलकुद ऐनमा भएको व्यवस्थाअनुसार पाउनुपर्ने पुरस्कार रकमका बारेमा पहल गरिदिन आग्रह गरेका थिए। खेलाडीको पुरस्कार रकमका बारेमा पहल गर्नु सकारात्मक भए पनि एन्फा नेतृत्व स्वयम् महिला फुटबलका बारेमा कहिले गम्भीर हुने भन्ने प्रश्न पुनः खडा भएको छ।

प्रकाशित: १ फाल्गुन २०७९ ००:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App