१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

खेलाडी छन्, खेलमैदान छैन

कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ। खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन्। चाडपर्व, मेला-महोत्सव आयो कि बजारदेखि गाउँसम्म ठूला-ठूला पुरस्कार राशिको खेलकुद प्रतियोगिता हुन्छन्। खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ। तर,जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेलमैदान छैन। भए पनि साँघुरा छन्।

उपयुक्त खेलमैदान नहुँदा पनि खेलाडी उत्पादन भइरहेका छन्। उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्रांगणमा खेल्दै आएका छन्। खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनुपरेको छ त कति विदेशिनुपरेको छ। त्यही साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौं खेलाडी अहिले राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका खेल खेलिरहेका छन्। उनीहरूले आफ्नो पहिचान थप उँचो बनाएका छन्।

बागलुङबाट रवि केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार, सोफया पुन लगायत दर्जनौं खेलाडीले राष्ट्रिय स्तरमा आफ्नो पहिचन स्थापित गराउन गर्न सफल भइसकेका छन्। अहिले पनि उनीहरूकै पछिपछि सयौं बालबालिका तथा युवा भलिबल र फुटबल खेल्दै आएका छन्। खेलमैदान अभावमा गुज्रिएका सयौं खेलाडी अहिले पनि माथिल्लो स्तरको खेल कसरी खेल्न सकिन्छ भन्ने अन्योलमा छन्। राम्रो प्रशिक्षक र खेलमैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नुपरेको भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी दिल सुनारले बताए।

निसीखोला गाउँपालिका-१ का सुनारले विगतमा आफू पाटाको कुना, खोला किनारमा खेल्दै सिकेको सम्झिंदै अहिले पनि खेल क्षेत्रको अवस्था निकै दयनीय भएको बताए। पछिल्लो समय तीन तहकै सरकारले खेल क्षेत्रको प्रवर्द्धनका लागि बजेट व्यवस्थापन गरे पनि सही ठाउँमा प्रयोग हुन नसकेको सुनार बताउँछन्। अहिले पनि राज्यको खेलप्रति हेरिने दृष्टिकोण फेरिन नसकेको उनको भनाइ छ।

उनी भन्छन्, ‘ खेल क्षेत्रमा अहिलेका पुस्तामा निकै ठूलो क्रेज छ, यो क्षेत्र निकै गौरव गर्न लायक क्षेत्र पनि हो, तर उपेक्षामा परेको जस्तो लाग्छ, अहिले पनि नयाँनयाँ सम्भावना बोकेका खेलाडी उत्पादन भइरहेका छन्, खेल्ने राम्रो वातावरण भएको भए उनीहरू देशमा मात्रै होइन, विदेशमा पनि छवि कमाउन सक्थे।’

बडिगाडका नवीनकुमार घर्तीले गाउँघरमा खेल धेरै खेल्ने गरे पनि मैदानकै अभाव भोग्नुपरेको सुनाए। घर्तीले समथर खेलमैदान नहुँदा काठ, ढुंगामुडामाथि खेल खेल्नुपर्ने स्थिति रहेको गुनासो पोखे।

ग्रामीण क्षेत्र निकै भिराला र अप्ठ्यारा हुँदा खेल खेल्नसमेत जोखिम रहेको घर्तीको भनाइ छ।

उनी भन्छन्, ‘स्कुलमा हो सबैभन्दा बढी खेल खेल्ने, दिउँसो पढाइ हुन्छ, बिहानबेलुकी पर्याप्त समय हुँदैन, गाउँमा खेल्ने त उही मेला महोत्सवमा हुने प्रतियोगितामै हो, अरू समय त ठाउँ पनि हुँदैन, समय पनि त्यस्तै हुन्छ।’

जिल्लाको बागलुङ नगरपालिका-१ स्थित बांगेचौर, वडा नं ९ को भकुण्डे, काठेखोला गाउँपालिका-७ रेश र तमानखोला गाउँपालिका-३ तमानगाउँमा बाहेक अन्य ठाउँमा पर्याप्त खेलमैदान छैनन्। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले सरकारले जिल्लाका खेलकुदसम्बद्ध संघसंस्थासँग सहकार्य नगरी बजेट विनियोजन गर्दा सही ठाउँमा प्रयोग हुन नसकेको बताए।

उनी भन्छन्, ‘बजेट कहाँ छ, कहाँबाट कति आउँछ, यसबारे खेलकुद विकास समितिलाई थाहै हुँदैन, खेलाडीको धेरै गुनासो खेलमैदानकै भएको हुँदा पछिल्लो समय हामीले यसबारे जानकारी लिन थालेका छौं।’रासस

प्रकाशित: २९ माघ २०७९ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App