१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सत्यवतीको सेमिफाइनल सम्भावना बलियो

सुजन गौतमको अलराउन्ड प्रदर्शन प्रेरित सत्यवती एकेडेमीले लिटल फ्लावर ट्वान्टी–२० प्रिमियर लिग (एलपिएल) मा शुक्रबार तेस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

धनगढीमा जारी विद्यालयस्तरीय यु–१९ राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार सत्यवतीले शारदा विद्या निकेतनलाई ६८ रनले हराउँदै तेस्रो जितसहित एलपिएलको सेमिफाइनल सम्भावना बलियो बनाएको हो। शुक्रबारकै दोस्रो खेलमा अत्तरियाकै गुराँस एकेडेमीले होली फेमिलीमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो। दिनको पहिलो खेलमा सत्यवतीले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको शारदा १८.३ ओभरमा ९७ रनमै अलआउट हुन पुग्यो।शारदाका अशोक धामीले २५ रन र हृदय बिठारीले १५ रन बनाउनुबाहेक अन्यले राम्रो ब्याटिङ गर्न नसक्दा सत्यवतीले सहजै जित आफ्नो बनायो। सत्यवतीको बलिङमा अभिषेक कोइरालाले तीन विकेट निकाले। सुजन गौतमले दुई विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे।उनी प्लेयर अफ दी म्याचसमेत घोषित भए।जित साउदले दुई तथा नीरज भट्ट र युवराज खत्रीले १/१ निकाल्दै शारदाको इनिङ धरासयी बनाए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोड्दै चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्यो।

सत्यवतीका लागि सुजनले सर्वाधिक ४० रन जोडे। सोनु अन्सारीले २१ रन, अभिषेक कोइरालाले ३५ रन, इमरान शेखले १९ तथा खगेन्द्र जोशीले १८ रन बनाए।शारदा विद्या निकेतनका राज बमले दुई तथा दीपक रोकाया, हृदय बिठारी र राजेन्द्र साउदले १/१ विकेट लिए।दोस्रो खेलमा गुराँसले दिएको १ सय १५ रनको मध्यम लक्ष्य पछ्याएको होली फेमिलीले २० ओभरमा ९ विकेट क्षतिमा १ सय ९ रन बनायो। होली फेमिलीका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन् र कैलाश क्षेत्रीको १९ रन नै सर्वाधिक योगफल रह्यो।गुराँस एकेडेमीका बलर सचिनबहादुर मल्लले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा १९ रन मात्र खर्चिए।

उनी प्लेयर अफ दी म्याचसमेत घोषित भए। अभिषेक कुँवरले दुई तथा सौर्य श्रेष्ठ र रवि विष्टले १/१ विकेट लिए।त्यसअघि टस जितेर ब्याटिङ गरेको गुराँसले २० ओभरमा सात विकेटको क्षतिमा १ सय १४ रन बनायो। गुराँसका लागि सचिन साउदले सर्वाधिक ३२ रन बनाए। विशाल विष्टले २४ रन र अभिशेक कुँवरले १२ रन जोडे। होली फेमिलीका बलर प्रेम ठकुराठीले सर्वाधिक तीन विकेट निकाल्दा विरेन बम, नेहाल दमाई, राहुल भण्डारी र सन्तोष विष्टले १/१ विकेट लिए। शनिबार लोटस आई र भुवनेश्वरी स्कुल तथा लिटल फ्लावर र नव बालवाटिका स्कुलबीच प्रतिस्पर्धा हुनेछन्। लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म हुने प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार १ सय ११ र उपविजेताले एक लाख २५ हजार ५ सय २५ रूपैयाँसहित ट्रफी पाउनेछन्।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी पाउनेछन्। उदीयमान खेलाडीले नगद पाँच हजार रूपैयाँ पाउने आयोजकले जनाएको छ।प्रतियोगितामा प्रत्येक विद्यालयले आफ्नो टोलीमा कम्तीमा चार जना नेपालको यु–१९ टोलीका खेलाडी समावेश गर्न पाउने प्रावधान छ।

प्रकाशित: २८ माघ २०७९ ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App