१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकपको तयारी पूरा

प्रतियोगिताको तयारीको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागीहरु।

यही माघ २८ गतेबाट हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। यस पटकको गोल्डकपमा एउटा विदेशी, ७ वटा ए डिभिजन सहित १२ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

उद्घाटन खेल आयोजक मकवानपुर ११ र सिमराको नव जनजागृति क्लवको बीचमा हुनेछ। मकवानपुर र सिमरासहित त्रिभुवन आर्मी फुटबल क्लव, नेपाल एपिएफ क्लव, सातदोबाटो क्लव, मनाङ मस्र्याङ्दी क्लव, फ्रेण्ड्स क्लव, हिमालयन् शेर्पा क्लव, एनआरटी क्लव, बागमती युवा क्लव सर्लाही, बीरगञ्ज युनाइटेड र एभिनियर एफसी क्यामरुनको सहभगिता रहेको छ । ‘प्रतियोगिताको तयारी करिब पूरा भएको छ। ७ वटा ए डिभिजन, एउटा विदेशीसहित १२ वटा टिमको सहभागिता रहेको छ’, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले भने, ‘हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।’  

प्रतियोगिताको समापनमा भने नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने उनले बताए। यस गोल्डकपलाई मकवानपुरका १० वटै स्थानीय तह सहित विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्दै आएको छ। पत्रकार सम्मेलनमा फुटबल संघका सल्लाहकार एवम् हेटौंडा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, एन्फा बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, नगर खेलकुद विकास समिति हेटौंडा अध्यक्ष चन्द्र शाही लगायतको आतिथ्यता थियो। मकवानपुर गोल्डकपको चौथो संस्करण त्रिभुवन आर्मी फुटबल क्लवले जितेको थियो।  

सर्वोत्कृष्ट खेलाडीलाई बुलेट

अघिल्लो दुई संस्करणमा झैं यस बर्ष पनि मकवानपुर गोल्डकप फुटबलको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने भएका छन्। हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले सर्वोत्कृष्ट खेलाडीलाई बुलेट प्रायोजन गर्ने भएको हो। ‘अघिल्लो दुई संस्करणमा झैं यस बर्षपनि म्यानेजमेण्टले सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल दिने पक्का भएको छ’, फुटबल संघ अध्यक्ष टीकाराम लामाले भने, ‘प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छनौट गरी पुरस्कार प्रदान गर्नेछौं।’ 

चौथो संस्करणमा मकवानपुर ११ का गोलरक्षक अशोक बराल र तेस्रो संस्करणमा मकवानपुरकै अमिर श्रेष्ठले बुलेट प्राप्त गरेका थिए। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।  

प्रकाशित: २६ माघ २०७९ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App