यु–१९ क्रिकेट विश्वकप छनोट लागि नेपालले यही फेब्रुअरी २४ तारिखमा सिंगापुरसँग खेल्दै छ। एसिया क्षेत्रबाट क्वालिफाई हुँदै यु–१९ विश्वकपमा छनोट हुने एक मात्र लक्ष्य नेपाली टोलीले लिएको छ।
नेपालले सिंगापुरसँगै २५ तारिखमा कुवेतसँग खेल्नेछ। २६ तारिखमा टोलीले आराम पाउनेछ। २७ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। २८ मा मलेसिया र २ मार्चमा युएईसँग खेल्नेछ। ६ टोलीबीचको प्रतिस्पर्धामा शीर्ष स्थानमा रहने एक टोलीले यु–१९ विश्वकपमा आफ्नो स्थान बनाउनेछ। नेपाली टोली यति बेला खेलकुदको सहर पोखरामा प्रशिक्षणमा व्यस्त छ।
एक हप्तादेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ। पोखराको क्रिकेट मैदानमा पर्याप्त सुविधा नभए पनि नेपाली टोलीका खेलाडी आफूलाई निर्खान व्यस्त छन्। निखार्ने जिम्मेवारी प्रशिक्षक जगत टमाटाको काँधमा छ। ‘टे«निङमा एक्सपोजर चाहिन्छ। जुन पोखरामा छैन। यद्यपि जुन उपलब्ध छ, त्यो नै उपयोग गरेका छौं,’ प्रशिक्षक टमाटाको भनाइ छ। पोखरामा क्रिकेट पिच र आउट फिल्ड मात्रै राम्रो भएको उनी स्विकार्छन्। नेट्स प्राक्टिसको लागि टर्फ विकेट तयारी अवस्थामा छैन। कंक्रिट विकेट छ, तर उपयोगी छैन। ‘प्राक्टिसको लागि इन्डोर(फेन्सिङ भित्र)लाई व्यवस्थित बनाउनुपर्छ,’ टमाटाको सुझाव छ।
काठमाडौंपछिको उत्कृष्ट क्रिकेट मैदान भनेर यत्रतत्र चर्चा हुने गरे पनि पोखरा रंगशालाको क्रिकेट मैदानलाई व्यवस्थित गर्नेतर्फ ध्यान छैन। राष्ट्रिय खेलकुद परिषद्ले विगतमा बजेट छुट्ट्याए पनि निकासा नहँुदा काम हुनै सकेको छैन। यो वर्ष पनि दुई करोड रूपैयाँ क्रिकेट मैदानका लागि छुट्टिएको छ। दुई करोड रूपैयाँले कास्की जिल्ला क्रिकेट संघ प्लेयर बक्स तथा चेन्जिङ रुम बनाउने योजनामा छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै पूर्वसन्ध्यामा साइडस्क्रिन निर्माण गरिएको थियो। त्यसभन्दा अघि २५ लाख रूपैयाँको बजेटबाट मैदान संरक्षण गर्ने फेन्सिङ लगाइएको थियो।
कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दीपेन्द्रप्रताप चन्दले क्यानका पदाधिकारीसमेत भ्रमण गरेका अवस्थामा आवश्यक पूर्वाधार बनाउनुपर्ने खाँचो औंल्याए। ‘हामीसँग जे पूर्वाधार छ त्यही पूर्वाधार उपलब्ध गराउने हो,’ उनको भनाइ थियो। नेपाल क्रिकेट संघ(क्यान)ले पनि पूर्वाधारमा ध्यान जरुरी रहेको उनले बताए। उपाध्यक्ष चन्दले दुई करोड रूपैयाँबाट आवश्यक पूर्वाधारको विषयमा क्यानकै मातहतमा कार्य गर्ने भएकाले सोधपुछ गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे।
पर्याप्त सुविधा नभएको मैदानमा यति बेला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण चलिरहेको छ। ‘८÷९ दिनलाई भनेर आएका हौं। एक हप्ता भयो। अब दुई÷तीन दिनपछि काठमाडौं फर्किन्छौं,’प्रशिक्षक टमाटा आफ्नो योजना सुनाउँछन्, ‘त्यसपछि अनुभवका लागि बाहिर जान्छौं।’ उनले युएईमा हुने उक्त छनोट प्रतिस्पर्धामा नेपाल शीर्ष स्थानमा रहेर छनोट रहने दाबी गर्छन्। ‘अरूको अवस्था हेरेर मात्रै रणनीति बनाउनेछौं,’ उनको भनाइ छ। नेपालले २०१६ पछि विश्वकप छनोटको खेल खेलेको छैन। छनोट खेल्ने सबै टोली उत्कृष्ट छन्। कमजोर कोही छैनन्। च्यालेन्ज छ। ‘युएई अरूभन्दा राम्रो छ,’ प्रशिक्षक टमाटा भन्छन्, ‘बराबर हेरेर योजना बनाई खेल्नेछौं।’
उमेरसमूहको बन्द प्रशिक्षणको उपयोग भने स्थानीय स्तरका खेलाडीले लिन नसकेको गुनासो उनको थियो। एकेडेमीका युवाहरूले क्याम्पमा भएका खेलाडीसँग अनुभव साट्ने अवसर पाएका थिए। जुन उपयोग गर्नबाट स्थानीय खेलाडी वञ्चित छन्। ‘समन्वय नै छैन। एकेडेमीका युवा खेलाडीले एक्सपोजर पाउने थिए। बलिङमा एक्सपोज हुने अवसर पाउने थिए,’ प्रशिक्षक टमाटा भन्छन्, ‘नयाँ खेलाडीले सिक्ने अवसर पाउने थिए। त्यो पोखरामा सम्भव देखिएन।’ उनका अनुसार दुई क्रिकेटरले बलिङको अवसर पाएको भन्दै यस्तै अन्य खेलाडीले पनि एक्सपोज हुने अवसर पाउने थिए।
प्रकाशित: २६ माघ २०७९ ००:३५ बिहीबार