१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप चन्द्रकला, संगीता र सरस्वती छनोट

निरु गुरुङलाई मुक्का प्रहार गर्दै संगीता सुनुवार (रातो)।

त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा, एपिएफका संगीता सुनार र सरस्वती रानामगर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

आगामी मार्च १३ देखि २७ सम्म भारतको राजधानी नयाँ दिल्लीमा विश्व महिला बक्सिङ च्याम्पियनसिप हुँदै छ।त्यसका लागि नेपाल बक्सिङ संघले नेपालको तर्फबाट सात महिला खेलाडी छनोट गर्दै छ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बुधबार भएको छनोटबाट आआफ्नो तौलसमूहमा सफलता प्राप्त गर्दै चन्द्रकला, संगीता र सरस्वतीले विश्व च्याम्पियनसिपमा स्थान बनाएका हुन्।चन्द्रकला ५७ केजी, संगीता ६० केजी र सरस्वती ७५ केजी तौलसमूहमा छनोट भए।

यसअघि मंगलबार कपिलवस्तुकी अञ्जली तेलीले ५२ केजी र आर्मीकी मीनु गुरुङ ५४ केजी तौलसमूहमा छनोट भइसकेका छन्।बुधबार भएको छनोटमा चन्द्रकला थापाले फाइनलमा झापाकी सुस्मिता राईलाई ५–० अंकले हराउँदै विश्व च्याम्पियनसिपको यात्रा तय गरिन्।एपिएफकी संगीताले भने फाइनलमा निरु गुरुङलाई ४–१ ले हराइन्।७५ केजी तौलसमूहको फाइनलमा एपिएफकी सरस्वती रानामगरले झापाकी त्रिसा जबेगुलाई ५–० ले हराइन्।अब बिहीबार ५० केजी तौलसमूहको फाइनलमा हुनेछ।

उक्त समूहमा नेपाल पुलिस क्लबकी दिवाना शेर्मा र एचटुओकी अस्मिता दुवाल प्रतिस्पर्धा गर्नेछन्। बुधबार भएको सेमिफाइनलमा अस्मिताले आरडिएक्सकी रमिशा श्रेष्ठलाई स्प्लिट डिसिजनको आधारमा हराइन्।अर्को सेमिफाइनलमा पनि दिवानाले आर्मीकी आरती बम्जनलाई स्प्लिट डिसिजनकै आधारमा हराउँदै फाइनलको यात्रा तय गरिन्।नेपालको तर्फबाट ६ खेलाडीको छनोट खुला प्रतियोगितामार्पmत विश्व च्याम्पियनसिपमा सहभागिता पक्का गरिँदा सुष्मा तामाङ भने स्वतः छनोट भएकी छन्।

यसै महिना थाइल्यान्डमा सम्पन्न एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक विजेता सुष्मालाई नेपाल बक्सिङ संघले नयाँ दिल्लीमा हुने विश्व च्याम्पियनसिपका लागि स्वतः छनोट गर्ने निर्णय गरेको हो।सुष्माको त्यो सफलता नेपालको बक्सिङ इतिहासमा सबैभन्दा ठूलो पदक पनि थियो।त्यसअघि नेपालका कुनै पनि बक्सरले एसियाली स्तरमा रजत पदक जित्न सकेका थिएनन्।थाइल्यान्डमा ४८ केजी तौलसमूहमा सुस्माले फाइनलमा नै स्थान बनाए पनि उज्बेकिस्तानकी फोजिलोभा फरजोनासँग स्तब्ध भएपछि स्वर्ण जित्ने अवसरबाट भने चुकिन्।

सोही सफलताका आधारमा बक्सिङ संघले उनलाई आगामी विश्व च्याम्पियनसिपका लागि स्वतः छनोट गरेको हो।नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले छनोट हुने सात खेलाडीलाई शुक्रबारदेखि नै विश्व च्याम्पियनसिपको तयारीमा राख्ने बताएका छन्।‘बिहीबार सबै खेलाडी छनोट हुनेछन्।सम्भवतः शुक्रबारदेखि नै हामी उनीहरूलाई तयारीमा राख्छौं।हाम्रो पहिलो प्राथमिकता उनीहरूलाई वैदेशिक प्रशिक्षणमा नै पठाउने योजना छ,’ प्रवक्ता अवालेले भने, ‘त्यो सम्भव नभए बन्द प्रशिक्षणमा राख्छौं।थाइल्यान्डको सफलताले हामी उत्साही छौं।त्यसैले विश्व च्याम्पियनसिपका लागि समयमा नै तयारी गर्दै छौं ।’ 

प्रकाशित: २६ माघ २०७९ ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App