४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली क्रिकेट ट्रान्जिट प्वाइन्ट नबन्ने विश्वास

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षण गर्न सुरु गरेको एक हप्तापछि औपचारिक रूपमा सार्वजनिक गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईबाट भने नेपाली क्रिकेट ट्रान्जिट प्वाइन्ट नबन्ने विश्वास व्यक्त गरेको छ।  

पछिल्लो १५ महिनामै तीनवटा विदेशी प्रशिक्षक डेभ ह्वाटमोर, पुबुदु दसानायके र मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण छाडेपछि क्यानमाथि समेत दबाब थियो। विभिन्न बहाना बनाउँदै प्रशिक्षकले छोटो समयमा नै सम्झौता रद्द गर्न थालेपछि राष्ट्रिय टोलीको प्रदर्शनमा पनि असर परेको भन्दै क्यानको आलोचना भइरहेको हो। ढेड वर्षमा नै चौथो पटक विदेशी प्रशिक्षकका रूपमा भारतका देशाईलाई भित्र्याएको क्यानले यस पटक भने नेपाल ट्रान्जिट प्वाइन्ट नबन्ने विश्वास व्यक्त गरेको छ।  

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको भविष्यलाई हेरेरै देशाईलाई मुख्य प्रशिक्षक बनाएर भिœयाएको उल्लेख गर्दै यस पटक नेपाल ट्रान्जिट प्वाइन्ट नबन्ने विश्वास व्यक्त गरेका छन्। ‘नेपाली राष्ट्रिय टिम विगतका प्रशिक्षकहरूका लागि ट्रान्जिट प्वाइन्ट हुने आरोप लागिरहेको छ। देशाई त्यो आरोपबाट मुक्त हुने विश्वास लिएका छौं,’ चन्दले भने। नवनियुक्त प्रशिक्षक देशाईले पनि आफ्नो दुई वर्षको सम्झौता अवधि पूरा गर्ने उद्देश्यअनुरूप नै नेपाल आएकाले बीचमा नै जिम्मेवारी नछाड्ने र उल्टै नेपाल बसाई लम्ब्याउन तयार भएको बताए।  

सन् २०१२ देखि नेपाली क्रिकेटप्रति जानकार देशाई नेपाल आएको १० दिन भइसकेको छ। यसबीच उनले गत माघ १५ देखि नै नेपाली टोलीको प्रशिक्षण थालेका थिए। यद्यपि, कानुनी प्रक्रिया नपुगेकाले क्यानले सार्वजनिक गरेको थिएन। ‘प्रशिक्षकलाई ढिला गरी सार्वजनिक ग¥यौं। केही कानुनी प्रक्रिया पूरा गर्नुपर्ने थियो। त्यो प्रक्रिया अगाडि बढेपछि मात्र सार्वजनिक गरेका छौं,’ चन्दले भने, ‘उहाँसँग लामो अनुभव छ। नेपालबाट पनि धेरै समय कन्सल्ट्यान्ट भएर पनि काम गरिसक्नुभएको छ। त्यसैले उहाँमाथि हामीलाई पूर्ण विश्वास छ।’  

बलात्कार आरोपमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पूर्वकप्तान सन्दीप लामिछानेमाथि निलम्बन फुकुवा गर्दै क्यानले उनलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ। प्रशिक्षक देशाईले सन्दीप मानसिक र व्यावसायिक रूपमा फिट रहेकाले उनलाई टोलीमा राखिएको उल्लेख गर्दै उनको मुद्दाका बारेमा भने केही बोलेनन्। ‘मलाई थाहा भएसम्म सबै कानुनी र व्यावसायिक प्रक्रिया पूरा गरेर नै सन्दीपलाई टोली समावेश गरिएको छ,’ प्रशिक्षक देशाईले भने, ‘सन्दीप फिट छन्। उनमा पुरानै क्षमता र उत्साह छ। त्यसैले उनी अन्तिम टोलीमा पनि पर्न सक्छन्।’  

एकताबद्ध हुन आग्रह

प्रशिक्षकले वेस्ट इन्डिज, नेपाल, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा, इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात लायन्स र राजस्थान रोयल्सको प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। यी टिममा उनले ब्याटिङ प्रशिक्षकका रूपमा काम गरेका थिए। उनी ब्याटिङमा राम्रो प्रशिक्षक मानिन्छन्। खराब ब्याटिङ नेपालको पुरानो समस्या पनि हो। मोन्टीले नेपाली खेलाडीमा क्षमता रहेको र उनीहरूबाट नेपाली क्रिकेटको भविष्य राम्रो देखिन सक्ने पनि उल्लेख गरे।  

‘नेपालको ब्याटिङमा समस्या छ। तर, नेपाली क्रिकेटरमा क्षमता पनि छ। त्यसैले केही समय लिँदा यो समस्या समाधान हुन सक्नेछ,’ देशाईको विश्वास छ। आफू नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउन आएको र सबै एकताबद्ध भएर अगाडि बढे मात्र नेपाली क्रिकेटको भविष्य निर्माण हुन सक्ने प्रशिक्षक देशाईले औंल्याएका छन्।  

‘एकदिवसीय मान्यता जोगिन सक्छ’

प्रशिक्षक देशाईसामु नेपालको एकदिवसीय मान्यता जोगाउनु मुख्य चुनौती हुनेछ। त्यसका लागि नेपाल विश्व क्रिकेट लिग–२ मा शीर्ष पाँचभित्र अटाउँदा आइसिसीको वर्तमान संरचनाअनुरूप एकदिवसीय मान्यता जोगिन सक्छ।  

सात राष्ट्र रहेको लिग–२ को अंकतालिकामा नेपाल १८ अंकसहित छैटौं स्थानमा छ। लिगमा २४ खेलबाट नेपालले आठ जित र १४ हारको नतिजा सामाना गरेको छ। अब नेपालले १२ खेल खेल्न बाँकी छ र त्यसमध्ये कम्तीमा ९ खेल जितेमा एकदिवसीय मान्यता जोगाउन सक्छ। प्रशिक्षक देशाईले पनि नेपालले एकदिवसीय मान्यता जोगाउने सम्भावना रहेको विश्वास व्यक्त गरेका छन्।  

त्यसका लागि प्रशिक्षक देशाईको पहिलो चुनौती घरेलु मैदानमा आगामी फागुन २ गतेदेखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय शृंखला रहनेछ। नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्ड सम्मिलित शृंखलामा शतप्रतिशत जित निकाल्ने लक्ष्य हुनेछ। तालिकाअनुसार नेपालले फागुन २ र ६ मा नामिबिया तथा फागुन ५ र ९ गते स्कटल्यान्डसँग खेल्नेछ। नेपालले पुनः स्कटल्यान्ड र नामिबियासँग फागुन ३ र ८ गते प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित: २४ माघ २०७९ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App