१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यान निर्वाचन जेठ मसान्तभित्र

बैठकपछि निर्णय सार्वजनिक गर्दै नेपाल क्रिकेट संघका पदाधिकारी।तस्बिर: धन/नागरिक

नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय समितिको निर्वाचन आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। क्यानको पोखरामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष चतुरबहादुर चन्दले आगामी जेठ मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको बताए।

‘जेठ मसान्तभित्रमा विशेष साधारणसभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष चन्दले बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै भने, ‘फागुनको १४ र १५ गते वार्षिक साधारणसभा कर्णालीको सुर्खेतमा आयोजना गर्ने निर्णय भएको छ।’

सेभेन थ्री स्पोर्ट्स प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था सृजना भएको जनाउँदै संघले आगामी वार्षिक साधारणसभामा यो विषय पेस गर्ने निर्णय गरेको छ। पूर्व प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा रीतेश थापा र थप एक जना सदस्य पछि मनोनयन गर्ने गरी तीन सदस्यीय क्यानको इन्टिग्रिटी कमिटी गठन गर्ने निर्णय गरेको छ। नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी पाएको सेभेन थ्री स्पोटर््ससँगको सम्झौता एकपक्षीय रूपमा रद्द भएको प्रसंगमा अध्यक्ष चन्दले संघले पाउनुपर्ने पैसा असुल्नका लागि आवश्यक कानुनी प्रक्रियामा जाने बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारीबमोजिम स्पट फिक्सिङमा संलग्न खेलाडी र व्यक्तिहरूको आरोप पुष्टिपश्चात् आइसिसी र क्यानको कोड अफ कन्डक्टबमोजिम कारबाही अगाडि बढाउने निर्णय समेत गरिएको छ। नेपाल टी-२० का सम्बन्धमा एभरेस्ट प्रिमियर लिगका सञ्चालक आमिर अख्तर लगायतले नेपाल क्रिकेट संघका साथै अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दा फिर्ता लिनका लागि आमिर अख्तर तथा इपिएललगायतका सबैलाई आग्रह गर्ने निर्णय गरेको छ। क्यानका अध्यक्ष चन्दले कार्यसम्पादन समितिको राजीनामा माग बेतुकको रहेको उल्लेख गरेका छन्।

बुधबार पोखरामा अघिल्लो दिन बसेको संघको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको स्पष्ट पारे। ‘राजीनामा बाहिर हल्ला गरेर माग्ने होइन। साधारणसभामै आफ्ना धारणा राखेर माग्ने हो,’अध्यक्ष चन्दले भने, ‘संघको विधान ३५(१) मा स्पष्ट उल्लेख छ। ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएपछि ३५ दिनभित्रमा विशेष साधारणसभा बोलाउँछौं। त्यहीं निर्णय हुन्छ।’ उनले साधारण सभामा ५१ प्रतिशतले राजीनामा मागे पद छाड्ने स्पष्ट पारे। उनले राष्ट्रिय खेलकुद परिषद्ले पठाएका दुई सदस्यको कुनै औचित्य नै नभएको जनाए।

बैठकमा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले कार्यवाहक सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन्। बोर्डले उनको स्थानमा अर्का सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ। नेपाल टी-२० लिग सम्पन्न भइसकेकाले गभर्निङ काउन्सिललाई विघटन गर्ने निर्णय समेत संघले गरेको छ। ‘आफू पछि हटेर निकास निस्कन्छ भनेर पछि हटेको हुँ,’ उनको भनाइ थियो। बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। अध्यक्ष चन्दले तीन महिनाको अनुशासन कारबाही भएपछि फुकुवा गरिएको बताए।

‘अदालतले खेल्न रोक लगायो भने खेल्न रोक हुन्छ। अन्यथा हामीले रोक लगाउन सकिँदैन। संघले गर्ने भनेकै तीन महिनाको अनुशासनको कारबाही गरिसकियो,’ उनले भने, ‘त्यसपछि फुकुवा गर्‍यौं।’ अध्यक्ष चन्दले अब सन्दीपको फिटनेस लगायतले टिममा समावेश हुने नहुने स्पष्ट पारे। बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तान गुल्सन झालाई दिने निर्णय गरेको छ। संघले सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि महिला तथा पुरुष खेलाडीलाई वर्गीकरणको आधारमा केन्द्रीय करारमा राख्ने निर्णय समेत गरेको छ। पुरुषतर्फ ‘ए’ ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन्।

त्यस्तै ‘बी’ ग्रेडमा आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल छन्। ग्रेड ‘सी’ मा कमलसिंह ऐरी, कुशल मल्ल, देव खनाल, सागर ढकाल, विवेक यादव, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, ललित नारायण राजवंशी र अविनाश बोहरा छन्। त्यसै गरी महिलातर्फ ‘ए’ ग्रेडमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन्। ग्रेड ‘बी’ मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्। ग्रेड ‘सी’ मा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन्। संघले बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय समेत गरेको र अनुमोदनका लागि आगामी वार्षिक साधारणमा पेस गर्ने निर्णय गरेको छ। 

प्रकाशित: १९ माघ २०७९ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App