१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

न्यू डाइमन्डलाई भलिबल उपाधि

लामाचौर- प्रतिभा माली हावी भएको खेलमा न्यू डायमन्ड एकेडेमीले एपिएफलाई हराउँदै लगातार चौथो पटक लामाचौर राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। डायमन्डले लामाचौर कोर्टमा भएका सबै फाइनलमा एपिएफलाई नै पराजित गरेको छ। डायमन्डले आइतबार एपिएफलाई ३०–२८, २५–१५ र २५–२० ले पराजित गर्‍यो। प्रतिभाले २५ स्कोर गरेको खेलमा कप्तान ललिता नाथले ८  र पनमिका राईले ७ स्कोर गरिन्।

डायमन्डका प्रशिक्षक कुमार राईले लामाचौरमा टोलीले पुन आफनो वास्तविक खेल प्रदर्शन गरेको बताए। उनले भने, ‘हामी खुुसी छौं। लामाचौर कोर्ट हाम्रा लागी भाग्यमानी छ। हामी नेपालको नम्बर एक टोली हौं भन्ने प्रमाणित गरेको छौं।’ राईले स्पाईकमा प्रतिभा, ललिता नाथ र पनमिकाको समन्वय मिल्दा खेलमा हाबी हुन सहज भएको बताए।

डायमन्डकी मुख्य स्पाइकर प्रतिभा मालीले टिमको मिहिनेतका कारण च्याम्पियन बनेको बताइन्। उनले भनिन्, ‘हामीलाई पछिल्लो समय उपाधि जित्न दबाब थियो। त्यो दबाब कारण हामी लामाचौरमा उपाधि जित्ने लक्ष्य सहित आएको थियौं र सफल भयौं।’

डायमन्डले विभागीय टोली विरुद्धको खेलमा घरेलु पोखरेली दर्शकको दरिलो ्कसमर्थन पाएको थियो। समर्थकले प्रतिभा र ललिताको नाम लिदै समर्थन गरेका थिए। पहिलो सेटमा एपिएफले डायमन्डलाई रोक्ने प्रयास गर्‍यो। तर अन्त्यतिर प्रतिभाको स्पाईकलाई रोक्न नसकेपछि पहिलो सेट गुमायो। त्यसपछिका सेटमा भने डायमन्ड आत्मविश्वासी देखियो।

एपिएफका प्रशिक्षक सुदेश रिमालले रिसिभको कमजोरले खेलको लय बिग्रिएको बताए। उनले भने, ‘रिसिभ बिग्रिएपछि हाम्रो रणनिती अनुसार खेल्न अप्ठयारो भयो। बिपक्षीलाई त्यसले फाइदा गयो।’ मुख्य स्पाइकर सरस्वती चौधरी नहुदा पनि टोलीमा मनोबैज्ञानिक असर गरेको रिमालले बताए। फाइनलमा रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरिन्।

फाइनलमा कप्तान बिनिता बुढाथोकीको ठाँउमा प्रशिक्षक रिमालले मनिषा तामाङलाई प्रयोग पनि गरेको थिए। च्याम्पियन बनेको डायमन्डले उत्कृष्ट विधातर्फ पनि हाबी भयो। डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी बनिन् भने कृपा अधिकारी उत्कृष्ट सेटर, ललिता नाथ उत्कृष्ट क्विकर, लिबेरो सलिना श्रेष्ठ उत्कृष्ट रक्षक घोषित भए। एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर पुरस्कार जितिन्। आर्मीकी मनिषा खाँड उत्कृष्ट ब्लकर चुनिइन। पश्चिमाञ्चलको टप्स स्कुलकी अरुणा शाही उत्कृष्ट सर्भर छानिइन्।

यसैगरी डायमन्डकी रक्षक समिक्षा घिमिरे र कप्तान ललितालाई उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल भलिबल संघकी कोषाध्यक्ष र पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छयाम बहादुर थापाले पुरस्कृत गरेको थिए।  यसैैगरी घरेलु टोेली पश्चिमाञ्चलको टप्स स्कुलले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ। टप्सले आर्मीलाई २५–१६, २५–१२, २५–१५ ले हरायो। टप्सको जितमा स्पाइकर अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरिन।

प्रतियोगिताको विजेता डायमन्डले ७५ हजार, एपिएफले ५० हजार र टप्सले २० हजार रुपैया पायो।  तीज महोत्सवको अवसरमा भएको भलिबलमा विभागीय टोली एपिएफ, आर्मीसँगै न्यु डायमन्ड, पश्चिमाञ्चल टप्स र मध्यपश्चिमको श्रीगाँउ टोलीले प्रतिस्पर्र्धा गरेको थिए।

प्रकाशित: २० भाद्र २०७३ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App