८ वैशाख २०८१ शनिबार
खेल

वडाध्यक्ष कप: कटारीको सुरुवाती अग्रता

वडाध्यक्ष गोल्डकप उद्घाटनमा बाल खेलाडी। तस्विरः महेश्वर

सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेमा शनिवारदेखि सुरु ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता’ मा कटारी फुटबल क्लब (केएफसी) ले विजयी यात्रा सुरु गरेको छ। निर्धारित ६० मिटेको खेलमा चौदण्डीगढी नगरपालिकालाई ५–२ को गोल अन्तरले हराउँदै कटारीले जितको यात्रा प्रारम्भ गरेको हो।

खेल सुरु भएको १४ औं मिनटमा प्रताप राईले पहिलो गोल गरेर जितको खाता खोलेको कटारीले मध्यान्तर अघिसम्म लगातार ३ गोल गर्न सफल भएको थियो। १६ औँ मिनटमा चौदण्डीगढीका खेलाडी विश्वास राईले पहिलो गोल गरेर टिमलाई प्रतिस्पर्धामा उतार्न खोजेका थिए। २० औं मिनटमा कटारीका अर्का खेलाडी आकाश राई र २५ औँ मिनटमा सुरन धामीले तेस्रो गोल गरेर टिमलाई अघि बढाए। चौदण्डीगढीका अर्का खेलाडी रितेश तामाङले २८ औँ मिनटमा थप गोल गरेपछि ३–२ को अन्तरमा मध्यान्तर भए पनि मध्यान्तरपछिको खेल आफुमैत्री बनाउन नसक्दा चौधण्डीगढी हार्न पुगेको हो।

मध्यान्तरपछि खेल सुरु भएको तेस्रो मिनटमै कटारीका सुरन धामीकै अर्को प्रहारले जाली चुमेर ४ गोल हुन पुगेकोमा ४० औँ मिनेटमा अर्का खेलाडी किरण दनुवारको पाँचौ गोल गर्दै कटारीलाई जित सुनिश्चित गराईदिएका हुन्। मैदान प्रवेश गरे लगत्तैदेखि प्रतिस्पर्धी टिमलाई दबाबमा राख्ने गरी उत्रिएको कटारीसँग सापेक्षिक रुपमा चौदण्डीगढी अघि बढ्न नसक्दा उद्घाटन खेलबाटै प्रतियोगिताबाट बाहिरिनु परेको छ।

पहिलो खेल जितेसँगै कटारी आउँदो १९ गते हुने सेमिफाइनल खेलको प्रतिस्पर्धी हुने अवसर पाएको छ। उद्घाटन खेलको म्यान अफ द म्याचको उपाधि कटारीकै प्रताप राईले पाए। उनलाई नगद १ हजार ५ सय र प्रमाणपत्र प्रदान गरियो।

वडा खेलकुद विकास समितिका सदस्य रुपेश मगरका अनुसार आइतबार हुने दोस्रो खेलमा सिराहाको गोलबजार स्पोर्टस क्लब र नेपाली सेनाको पशुपति गण बोक्सेबीच स्पर्धा हुनेछ। प्रतियोगितामा जिल्ला बाहिरका टिमहरू सिराहाबाहेक सशस्त्र प्रहरी बल (एपिएफ) मोरङ र सुनसरी तथा सदरमुकाम गाईघाट र घरेलु टिम फ्युजन क्लबसमेत ८ वटा टिमको सहभागिता रहेको छ।

विजेतालाई १ लाख नगद र ट्रफि प्रदान गरिने प्रतियोगिताको उपविजेताले ५० हजार नगदसहित सिल्ड, कप र प्रमाणपत्र पाउनेछ। वडा युवा तथा खेलकुद विकास समितिका अन्सार उदयपुरमा वडाध्यक्ष गोल्डकप पहिलो पटक आयोजना गरिएको र अहिलेसम्मको ठुलो पुरस्कार राशीको हो। वडाध्यक्ष किरण पाण्डेले आगामी बर्ष पुरस्कारको राशि थप बढाउने गरी योजना तर्जुमा गर्ने प्रतिबद्धता उद्घाटन कार्यक्रममा जनाए।

बोक्सेस्थित खेलमैदानमा आयोजित प्रतियोगिताको त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए। सो क्रममा मेयर बस्नेतले खेलकुद क्षेत्र युवाहरूलाई चलायमान, सृजनशील र रचनात्मक गतिविधिमा लगाईराख्ने माध्यम हुनुका साथै इज्जत र गौरवको विषय भएको बताए।

आफू निर्वाचित भएलगत्तै मुलुक चुनावमा होमिएकाले सोचे अनुरूप काम गर्न नसकेको भन्दै मेयर बस्नेतले अव एकपछि नतिजामुखी काम गर्दै जाने र विकास निर्माणले छिट्टै गति लिएको महसुस नगरबासीलाई गराउने बताए।

त्यसैगरी उपमेयर राईले खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नगरपालिकाले वडा स्तरसम्म युवा तथा खेलकुद विकास समिति गठन गरेर परिचालन गर्दै आएको बत्ताइन्। युवाहरुलई सक्रिय, गतिशील र अनुशासित राख्न महत्त्वपूर्ण योगदान रहने खेलकुद क्षेत्रको विकास दिगोपनका लागि नगरपालिकाले हरेक वडामा खेलमैदान निर्माण गर्दै खेलकुदका गतिविधि गरिरहेको उनले सुनाइन्।

प्रकाशित: १४ माघ २०७९ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App