१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिच कीर्तिमाननजिक

अमेरिकाका टोमी पाउलमाथि सोझो सेटमा जितसहित अस्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेसँगै नोभाक जोकोभिच २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने संघारमा पुगेका छन्।

आइतबार स्टेफानोस सित्सिपासविरुद्ध हुने फाइनल जितेमा जोकोभिचले स्पेनका राफेल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्नेछन्। शुक्रबार रड लाभरमा सम्पन्न सेमिफाइनलमा जोकोभिचले पाउललाई ७–५,६–१,६–२ को जित निकाल्न सफल भए।  

जोकोभिच अस्ट्रेलियन ओपनको कीर्तिमानी नौ पटकका विजेता हुन्। कीर्तिमानी १०औं पटक अस्ट्रेलियन ओपन जितेमा गत जुनपछि जोकोभिच विश्व वरीयताको शीर्ष स्थानमा उक्लिनेछन्।

सित्सिपासले १८ औं वरीयताका रूसी कारेन काचनोभमाथि ७–६(७–२),६–४,६–७ (६–८),६–३ को जितसहित जोकोभिचविरुद्धको फाइनल भेट पक्का गरे।

जोकोभिचको फाइनल खेलमा उनका बुबा सेर्डजान भने अनुपस्थित रहने भएका छन्। जोकोभिचले बुधबार क्वार्टफाइनलमा जित निकालेपछि उनका बुबा सेर्डजानको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर अंकित झन्डासहितको तस्बिर सार्वजनिक भएको थियो। जसका कारण उनलाई कोर्ट प्रवेशमा रोक लगाउने सम्भावना उच्च रहेको छ। युक्रेनमाथि एकतर्फी सैन्य हमला गरेपछि अन्तर्राष्ट्रिय समुदायले रूससँग सम्बन्ध कटौती गरिसकेका छन्। रूसी खेलाडीमाथि पनि विभिन्न खेलमा प्रतिबन्ध लाग्दै आएको छ। केही अधिकारकर्मीले भने जोकोभिचमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाएका थिए।

सेर्डजानले भने एक विज्ञप्ति जारी गर्दै आफू रूसको समर्थनमा नरहेको बताए। ‘म निकै उत्साही छु,’ जोकोभिचले भने, ‘म चोटका कारण पनि फाइनलसम्मको यात्रा तय गर्न सफल भएँ। पक्कै पनि म प्रतियोगिताअघि फिट थिइनँ। सुरुआती केही चरणमा मैले ह्यामस्ट्रिङको समस्याका कारण केही समस्या झेल्नुपर्‍यो। तर पछिल्लो दुई खेलमा भने मैले चोटका कारण कठिनाइ भोग्नु परेन। आशा छ, फाइनलमा पनि म पूर्ण रूपमा फिट हुनेछु।’  

अस्ट्रेलियन ओपनमा जोकोभिचको यो लगातार २७औं जित हो। जोकोभिचले अहिलेसम्म पाउलविरुद्ध कुनै पनि खेल खेलेका थिएनन्। जोकोभिचले पाउलविरुद्ध निकै सजक भएर खेलेको बताए।

जोकोभिचले गत वर्ष कोभिड १९ विरुद्धको खोप नलगाएकै कारण प्रतियोगिता खेल्न मेलबर्न पुगे पनि डिपोर्ट हुनुपरेको थियो। जोकोभिचले सित्सिफासविरुद्ध पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनल खेल्न लागेका हुन्। ग्रान्ड स्लाम फाइनलमा भने जोकोभिच र सित्सिपासबीचको यो दोस्रो भिडन्त हो। २०२१ को फ्रेन्च ओपन फाइनलमा जोकोभिचले सित्सिपासलाई नै हराएका थिए।

प्रकाशित: १४ माघ २०७९ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App