१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जर्मनीलाई महिला फुटबलको स्वर्ण

रियो दी जेनेरियो- दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबार जर्मनीले स्विडेनलाई २–१ ले पराजित गर्दै ओलम्पिक महिला फुटबलमा पहिलो स्वर्ण पदक जितेको छ। प्रतियोगिताअघि विश्व वरीयताको दुई र अहिले नम्बर एक जर्मनी ओलम्पिक र विश्वकप दुवैमा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ। जितसँगै प्रशिक्षक सिल्भिया नेइडको बिदाइ सुखद बनेकोछ। ११ वर्षे प्रशिक्षण अवधिमा नेइडले जर्मनीलाई २००७ को विश्वकप तथा २००९ र २०१३ मा युरोपियन च्याम्पियनसिपको उपाधि जिताएकी थिइन्।

२०१२ मा ओलम्पिकमा सहभागिता नभएको जर्मनीले २०००, २००४ र २००८ मा लगातार कांस्य पदकमा चित्त बुझाउनुपरेको थियो।

फाइनल खेलका तीनै गोल दोस्रो हाफमा भयो। जेनिफर मारोसनले ४८ औं मिनेटमा गरेको गोलमा जर्मनीले अग्रता लिएको हो । ६२ औं मिनेटमा स्विडेनकी लिन्डा सेमब्रानटले आत्मघाती गोल गरेपछि जर्मनी २–० ले अग्रता लिन सफल भयो। आत्मघाती गोल भएको ५ मिनेट बित्न नपाउँदै स्विडेनकी स्टिना ब्लाकस्टेनिउसले गोल फर्काए पनि जितका लागि त्यो पर्याप्त भएन।

२००८ र २०१२ को स्वर्ण पदक विजेता अमेरिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेकी प्रशिक्षक पिए सुन्धेजले स्विडेनलाई तेस्रोपटक पनि ओलम्पिक जिताउन सकिनन्। क्यानडाले आयोजक ब्राजिललाई २–१ ले पराजित गर्दै कांस्य पदक जित्यो। २५ औं मिनेटमा डेनी रोजको गोलमा अग्रता लिएको क्यानडाका लागि ५२ औं मिनेटमा क्रिस्टेन सिनक्लयरले अर्को गोल थपेकी थिइन्। ब्रालिजकी बेएटि्रजले ७९ औं मिनेटमा गोल गरेकी थिइन्।

फाइनल खेलअघि स्विडेनले आफ्नो ५ खेलमा ३ गोलमात्र गर्न सकेको थियो। तर शुक्रबार राम्रो सुरुआत गरे पनि  स्विडेनले अवसर सदुपयोग गर्न सकेन। जर्मनीकी अन्जा मिटाङले २५ औं मिनेट गोलको राम्रो मौका खेर फालिन्।

लियोनी  मेइरको प्रहार स्विडेनकी गोलकिपर राम्रो नियन्त्रणमा लिन नसकेको बल मिटाङकै अगाडि फर्किएको थियो। तर मिटाङको प्रहार आकासियो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको जर्मनीले तेस्रो मिनेटमै अग्रता लिन लियो। पेनाल्टी बक्समा पाएको क्रसलाई मारोसनले पोस्टको दिशा दिएकी थिइन्। त्यसको १४ औं मिनेटमा जर्मनीले अर्को गोल उपहारमा पायो। सारा डाइब्रिट्जले २० यार्डबाट गरेको प्रहार सेमब्रानटले क्लियर गर्न लाग्दा आफ्नै पोस्टमा छिरेको थियो।

स्विडेनले तत्काल गोल गर्दै खेलमा फर्काउन खोजे पनि सफल हुन सकेन। ओलिभा स्कोउचले गरेको क्रसलाई पेनाल्टी बक्समा रहेकी ब्लाकस्टेनिउसले पोस्टको दिशा दिएकी हुन् । खेल सकिन ३ मिनेट बाँकीमा स्कोउचले बराबरी गर्ने राम्रो अवसर खेर फालिन्।

प्रकाशित: ५ भाद्र २०७३ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App