coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लोरिसले लिए सन्यास

कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

१९६२ पछि पहिलो पटक विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय लिएको छु,’लोरिसले भने, ‘मैले मलाई दिएको सबै जिम्मेवारी पूरा गरेजस्तो लाग्छ। अबको दुई महिनापछि युरो कप २०२४ को छनोट चरण सुरु हुँदै छ, त्यसैले यो कठिन तर महŒवपूर्ण निर्णय हो।’

इङ्लिस प्रिमियर लिगको क्लब टोटनह्यामका गोलकिपरसमेत रहेका लोरिसले २१ वर्षको उमेरमा २००८ को नोभेम्बरमा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलसँगै फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। लोरिस फ्रान्सबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनले फ्रान्सबाट १ सय ४५ खेल खेलेका छन्। यसअघि लिलियान थुरामको नाममा १ सय ४२ खेलको कीर्तिमान थियो।

‘कतार विश्वकप २०२२ को समापनसँगै मैले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नेबारे सोचिरहेको थिएँ,’ लोरिसले भने, ‘तर पनि निर्णय लिन हतार गरिनँ। प्रशिक्षक र परिवारका सदस्यसँगको छलफलपछि यो निर्णय सार्वजनिक गरेको हुँ।’

निस र लियोनका समेत गोलकिपर रहेका लोरिसको कप्तानीमा फ्रान्सले २०१८ को रूस विश्वकपको उपाधि जितेको थियो। उनले २०१२ देखि फ्रान्सको कप्तानी सम्हालेका थिए। उनको कप्तानीमा फ्रान्सले तीन पटक विश्वकप, तीन पटक युरोपियन च्याम्पियनसिप र एक पटक युइएफए नेसन्स कप गरी सात प्रमुख प्रतियोगिता खेलेको थियो।

लोरिसले संन्यास घोषणा गरेपछि एसी मिलानका गोलकिपर माइकले फ्रान्सको गोलपोस्ट सम्हाल्नेछन्। चोटका कारण उनले विश्वकप गुमाएका थिए। ‘सधैँ कुनै स्थान ओगटेर बस्नुको अर्थ छैन। राष्ट्रिय टोलीमा स्थान बनाउनु स्थायी होइन, नयाँ खेलाडीलाई समेत अवसर प्रदान गर्नुपर्छ,’ लोरिसले भने, ‘माइकले अब फ्रान्सको गोलपोस्ट सम्हाल्नेछन्। मैले साढे १४ वर्ष राष्ट्रिय टोलीबाट खेलेँ। यो विशेष उपलब्धि हो। विश्वविजेता बन्नु अर्को उपलब्धि थियो।’

मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले २०२६ को विश्वकपसम्म सम्झौता नवीकरण गरेको केही दिनपछि नै लोरिसले संन्यासको घोषणा गरेका हुन्। डेसच्याम्पकै प्रशिक्षणमा उनले २०१२ मा कप्तानीको जिम्मेवारी पाएका थिए।

प्रकाशित: २७ पुस २०७९ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App