१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

न्यु डायमन्डको विजयी सुरुआत

सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साबिक विजेता न्यु डायमन्डले नयाँ बजार सामाजिक युथ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आइतबारबाट सुरु प्रतियोगितामा विजयी सुरुआत गरेको हो। न्यु डायमन्डले जितबाट प्रतियोगिताको सुरुआत गर्दा नयाँ बजारले भने लगातार दोस्रो हार भोगेको छ। न्यु डायमन्डले नयाँ बजारलाई २५-२, २५-८ र २५-६ को सेटमा हरायो। यो जितसँगै डायमन्डले समूह ‘ए’ मा तीन अंक जोडेको छ।

सोमबारकै दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्यो। यो जितसँगै पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ। एकतर्फी जित निकालेको पुलिसले एभरेस्टमाथि पहिलो सेटमा २५–१४, दोस्रोमा २५–९ र तेस्रो सेटमा २५–६ को सहज जित निकालेको हो। यस समूहमा नयाँ बजार र एभरेस्ट छन् भने उनीहरूले अंक जोड्न सकेका छैनन्। सोमबार नै पुरुषतर्पm खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढानीलकण्ठ क्लबलाई हराउँदै जारी प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपालले बुढानीलकण्ठमाथि पहिलो सेटमा २५–१६, दोस्रोमा २५–१९ र तेस्रो सेटमा २५–१६ को सहज जित निकाल्यो। यससँगै हेल्प नेपालले पनि जारी प्रतियोगितामा सुखद सुरुआत गर्दै तीन अंक जोड्न सफल भएको छ। अर्को खेलमा केशवलाल मेमोरियल भलिबल क्लबले मधेश प्रदेशलाई ३–१ सेटमा हरायो। केशवलालले २५–२१, २५–२३, २७–२९ र २५–१७ को सेटमा जित निकाल्यो। सोमबार नै पुरुष तर्फको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लागातार दोस्रो खेलमा स्पष्ट जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो।

पहिलो खेलमा बलियो टोली दावाली क्लबलाई हराउँदै विजयी सुरुआत गरेको आर्मीले सोमबार मणीमुकुन्दलाई २५–११, २५–२० र २५–१४ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ। पुरुषतर्फ सोमबारकै अन्तिम खेलमा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो। एपिएफले जावलाखेललाई पहिलो सेट २५–९, दोस्रो २५–१४ र तेस्रो सेट २५–१५ ले सहजै हरायो। जितसँगै समूह ‘बी’ को एपिएफले तीन अंक जोड्दा जावलाखेल र रामेछापको शैलुङ बाघढुङ्गा अंकविहीन छन्।

शैलुङले भने एक खेल पनि खेलेको छैन। मंगलबार महिलातर्फ एपिएफ र गण्डकीबीच पहिलो खेल हुनेछ। दोस्रो खेलमा न्यु डायमन्ड र एभरेस्ट भिड्नेछन्। पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस र ढोरपाटन, न्युटन र गण्डकी, मणिमुकुन्द र दावाली तथा बुढानीलकण्ठ र मधेश प्रदेशबीच खेल हुनेछन्।

प्रकाशित: २६ पुस २०७९ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App