दोस्रो हाफमा मैदान प्रवेश गरेका हिसुब थपलियाको ह्याट्रीकसँगै ५-० गोलले जावलाखेल यूथ क्लवले पाँचौ बागमती गोल्डकपमा विजय यात्रा सुरु गरेको छ।
तेस्रो संस्करणको विजेता समेत रहेको जावलाखेलले आयोजक बागमती खेलकुद विकास समितिलाई ५-० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो।
पहिलो हाफमा २ गोलले अघि रहेको जावलाखेलका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका हिसुबले ह्याट्रीक गरेका हुन्। खेलको दोस्रो मिनेटमै जावलाखेलले अग्रता लिएको थियो। सुनिल खड्काले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। १८ औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो। समिराज थोकरको प्रहार बारमा लाग्दै गोल भएको हो।
दोस्रो हाफमा मैदान प्रवेश गरेका थपलियाले आफ्नो उत्कृष्ट खेल प्रश्तुत गर्दै ह्याट्रीक गरेका हुन्। जावलाखेलको सामु आयोजक निरिह बनेको थियो। ह्याट्रीक गरेका थपलिया नै खेलको म्यान अफ द म्याच भए। उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे। जारी प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लवले घरेलु टिम मकवानपुर ११ संग खेल्नेछ।
माघ ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एक विदेशी र दुई स्थानीय क्लव गरी १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाखसहित ट्रफी प्राप्त गर्नेछ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगितालाई बागमति प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेका हुन्। उनले नेपालमा गणतन्त्र प्राप्तिपछी खेलकुदसँगै सबै क्षेत्रको विकासले फड्को मारेको दावी गरिन्। खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाइन्।
बागमती खेलकुद विकास समिति संयोजक टीकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य टिकाराम लामा, हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ लगायतको आतिथ्यता थियो।
प्रकाशित: २४ पुस २०७९ १३:४३ आइतबार