२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चेल्सीमाथि सिटीको रोमाञ्चक जित

खेलाडीको चोटका कारण समस्यामा परेको चेल्सीमाथि १-० को रोमाञ्चक जित निकाल्दै साबिक विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी ५ अंकले छोट्याएको छ।

चेल्सीको घरेलु मैदानमा आयोजना भएको खेलमा पेप ग्वार्डिओलाको टोली सिटीले पहिलो हाफमा दबाब झेल्दै खेले पनि दोस्रो हाफमा लिएको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो। केही अनुभवी खेलाडी चोटग्रस्त हुँदा कमजोर भएको चेल्सीले दोस्रो हाफमा पहिलो हाफको लयलाई निरन्तरता दिन असफल भएको थियो। सोही कमजोरीको फाइदा उठाउँदै सिटीका लागि ६३औं मिनेटमा रियाद महारेजले गरेको गोल नै निर्णायक भएको थियो। महारेजले ज्याक ग्रिलिसले उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए।

चेल्सीको मैदानमा आतिथ्यता गरेको सिटीले सुरुआत रक्षात्मक हुँदै खेले पनि दोस्रो हाफमा आक्रामक रणनीति अपनाउँदै खेलेको थियो। पेप ग्वार्डिओलाले पेसमा खेल्ने रणनीति अपनाउँदा दोस्रो हाफमा सफलता मिलेको बताए।

‘पहिलो हाफमा आतिथ्यता गरेको हिसाबले हामीले केही संघर्ष गर्नुपर्‍यो। अपेक्षा अनुसार पहिलो हाफमा गोल हुन नसक्दा रणनीति सुधार गर्नुपर्ने भयो र सोही अनुसार हामीले आक्रामक खेल्यौं,’ ग्वार्डिओलाले भने, ‘तीन अंक हामीलाई अति नै आवश्यक थियो। अंकको महत्त्व खेलाडीले बुझिसकेका थिए। केही समय हामी शीर्ष स्थानमा थियौं। केही प्रतियोगितामा केन्द्रित हुँदा हाम्रो लय बिग्रिएको थियो। शीर्ष स्थानमा फर्किन जित हाम्रा लागि निकै महत्त्वपूर्ण थियो जुन सम्भव भयो।’

जितसँगै सिटीले १७ खेलबाट ३९ अंक बनाएको छ। शीर्ष स्थानको आर्सनलको समान खेलबाट ४४ अंक छ। उता ग्राहम पोटरको चेल्सी घरेलु मैदानमा नतिजा सुम्पिएसँगै तालिकाको १०औं स्थानमा पुगेको छ। चेल्सीको समान १७ खेलबाट २५ अंक छ।

चेल्सीमा अनुभवी खेलाडी मेसोन माउन्ट, रिस जेम्स र रहिम स्टर्लिङजस्ता खेलाडी चोटग्रस्त हुँदा नतिजा घरेलु मैदानमा महँगो साबित भएको हो। रहिम स्टर्लिङ सुरुआती पहिलो मिनेटमा नै ह्यामस्ट्रिङको समस्या झेल्दै मैदानबाट बाहिरिएका थिए र उनको स्थानमा पिएरे इमेरिक औबामेयाङ मैदान उत्रिएका थिए। तर पनि पहिलो हाफमा दबाब दिएर खेलेको चेल्सीले १६औं मिनेटमा अग्रताको अवसर खेर फालेको थियो। क्रिस्टियन पुलिसिच एक्लैले अगाडि बढाएको बललाई सिटीका डिफेन्डरले ट्याकल गर्दै बाहिर फाल्दा चेल्सीको अवसर खेर गएको थियो।

अघिल्ला खेलमा चम्किएका सिटीका इर्लिङ हाल्यान्ड बिहीबारको खेलमा चम्किन सकेनन्। यद्यपि प्रशिक्षक ग्वार्डिओलाले आफ्नो टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए। यसअघि एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदा ग्वार्डिओलाले ग्रिलिस र महारेज लयमा फर्किन समय लाग्ने बताएका थिए। ग्रिलिसले गोलका लागि बिहीबार अवसर सिर्जना गरी महारेजले गोल नै गर्न भ्याउँदा प्रशिक्षक ग्वार्डिओलाको भनाइलाई पुष्टि गरेको छ।

पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल खेलेको पोटरको टोलीले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरे पनि असफल रह्यो। पोटरले इङ्ल्यान्डका फरवार्ड कोनर गल्लाघेरको स्थानमा हाकिम जियच, मार्को कुकुरेल्लाजस्ता खेलाडी मैदान छिराए पनि उनको टोली खेलमा फर्किन असफल रहेको थियो।

चेल्सीले एफए कपको तेस्रो चरणको खेलमा आइतबार सिटीसँगै प्रतिस्पर्धा गर्दै छ। प्रशिक्षक पोटरले आफ्नो टोली उक्त खेलमा पूर्ण रूपमा फिट हुँदा बदला लिने लक्ष्यमा हुने बताए।  

प्रकाशित: २३ पुस २०७९ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App