coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

५० करोडमा रंगशालासहित ११ वटा संरचना निर्माण हुने

जुम्लामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका-५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो।

रंगशाला नहुँदा खेलाडीहरूलाई अभ्यास गर्न, जिल्लास्तरीय विभिन्न खेलकुद आयोजना गर्न समस्या हुने गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सब-इन्जिनियर चन्द्रबहादुर खड्काले बताए। उनका अनुसार प्रदेशकै नमुना रंगशाला निर्माण हुनेछ, रंगशालाका लागि टेन्डर आह्वान भइसकेको छ। अबको २ वर्षमा सुविधायुक्त रंगशालासहितका अन्य संरचना निर्माण हुनेछन्। सघन सहरी विकास कार्यक्रमअन्तर्गत रंगशाला बन्न लागेको हो। कुल ५० करोड लगानीमध्ये १३ करोड लागतमा रंगशाला निर्माण हुनेछ। बाँकी ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना बन्नेछन्। जुम्लाको रंगशाला निर्माण प्रदेश गौरवकै आयोजना हो।

अबको दुई वर्षपछि जुम्लामा सुविधायुक्त रंगशाला बन्ने कुराले खेलाडीहरू निकै हर्षित हुन थालेका छन्। पहिलो विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया रंगशाला निर्माण हुनेछ। त्यस्तै रानी ताल पार्क निर्माण, चन्दननाथ नगरपालिका अगाडि सटर निर्माण, चन्दननाथ ८ को पक्की वडा कार्यालय भवन निर्माण,जुम्ला बजारमा कटिङ ढुङ्गा छाप्ने काम हुनेछन्। कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु, कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाइपालादेखि भण्डारी वडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रेलगायतका ११ वटा संरचना रंगशाला सँगसँगै निर्माण हुनेछन्।

यस्तै सघन सहरी विकास कार्यक्रमअन्तर्गत नै डोल्पाको ठुली भेरी नगरपालिकामा २५ करोड लागतमा रंगशाला र सडक, त्रिपुरासुन्दरी नगरपालिकामा २५ करोड लागतमा सडक, पार्क र गेस्टहाउस निर्माण हुने  खड्काले जनाए। उनले भनेअनुसार कालिकोटको रास्टकोट नगरपालिकाको आरसिपी बजामा २० करोडमा ३० वटा सटर निर्माण हुनेछन्।

माथिल्लो कर्णालीका सहित ८ जिल्ला कार्यक्षेत्र रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले चालू आवमा सडक भवनलगायतका २५ वटा आयोजना निर्माण गरिरहेको छ।  

प्रकाशित: २१ पुस २०७९ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App