काठमाडौं- हाँसेरै संसार जित्न सकिन्छ। सायद, त्यस्तै लाग्थ्यो ललितकृष्ण श्रेष्ठलाई। त्यसैले मुस्कुराइदिन्थे आलोचकका माझमा पनि। उनी 'मिलनसार' शब्दको पर्यायवाची थिए। त्यही स्वभावले विरोधीको बोली बन्द हुन्थ्यो।
अखिल नेपाल फुटबलसंघका तत्कालीन अध्यक्षतथा थ्रीस्टार क्लबका ललितकृष्ण श्रेष्ठलाई परिवारभन्दा फुटबल प्यारो लाग्थ्यो। त्यसैले त फुटबलमै समर्पण गरिदिए,पूरा जीवन। फुटबलमै समर्पित श्रेष्ठको जीवन बिहीबार मरणोपरान्त पल्सर स्पोर्टस अवार्डको विशेष पुरस्कारबाट सम्मानित भयो।
उनका सहकर्मीहरूलाई श्रेष्ठ रिसाएको कमै याद छ। त्यही मिजासिलो स्वभावले एन्फाको आन्तरिक विवादमा उनको भूमिका मुख्य हुनेगर्थ्यो। एन्फा नेतृत्वमा चरम विवाद भएका बेलामा उनले समाधानको सेतुका रूपमा काम गरेकाथिए। जसका कारण विपक्षीहरू पनि उनका 'फ्यान' हुन्थे।
फुटबलमा व्यावसायिकता भिœयाउन अग्रणी भूमिका थियो उनको। आर्थिक अभावमा कारण क्लबहरू धराशयी बन्दै गर्दा नेपालमै पहिलोपटक प्रायोजक भिœयाएका थिए, श्रेष्ठले। पहिलोपटक २०६१ सालमा नबिल बैंकसँग प्रायोजन सम्झौता गर्दा उनले चर्को आलोचना खेप्नुपर्यो। खासमा उनले प्रायोजनभन्दा पनि व्यावसायिक प्रतिष्ठानसँग सहकार्यको सम्झौता गरेका थिए। जसले क्लबको नाम फेरिएर नबिल थ्री स्टार भएको थियो। आलोचकलाई यो पचेन। पैसाका लागि क्लब बेचेको भन्दै उनीविरुद्ध चर्का नाराबाजी पनि भए। तर समयले १२ वर्षको नेटो काट्दा अहिले श्रेष्ठलाई पछ्याउने धेरै भइसकेका छन्। अधिकांस क्लबको नामअघि व्यावसायिक प्रतिष्ठानका नाम झुन्डिन थालेका छन्। आर्थिक अभावका बीच पनि खेलाडीलाई क्लबप्रति अपनत्व जगाउने चामत्कारिक खुबी थियो उनमा। त्यसैले सिक्किमको पालजोर रंगशाला देखी नेपालभर थ्रीस्टारको निलो जर्सी लगाउनेहरू प्रसस्त भेटिन्छन्।
सातदोबाटोमा रहेको एकेडेमी एन्फाको सान बनेको छ। त्यही एकेडेमीलाई यहाँसम्म ल्याउन पनि श्रेष्ठको योगदान विशेष छ।‘ए’ डिभिजन क्लबदेखि राष्ट्रिय टोलीसम्म त्यही एकेडेमीबाट हुर्किएका खेलाडीहरू छाएका छन्।
एकेडेमी निर्माणका बेलाश्रेष्ठको लगनशीलता र मिहिनेतलाई निकै सम्भि्कइरहन्छन्, फुटबल पदाधिकारीहरू। ‘निर्माण क्रममा उनको खुट्टा भाँचिएको थियो। तर, उनलाई आफ्नो शरीरभन्दा एकेडेमीका बालबच्चाको चिन्ता बढी हुन्थ्यो ललितलाई,’ फुटबल पदाधिकारीहरू सम्झन्छन्।
लामो समयदेखिएन्फामा विवाद जारी रह्यो। तर, जब विवादको पारो चढ्दै जान्थ्यो,श्रेष्ठको व्यस्तता पनि बढ्दै जान्थ्यो। नेपाली फुटबलमा उनको नेतृत्व सबैलाई मान्य हुँदै गएको थियो, नियति बाहेक। गतवर्ष जेठ २९ मा घरमै करेन्ट लागेर उनको अस्वाभाविक मृत्यु भयो। उनको मृत्यु यस्तो बेला भयो जतिबेला फुटबललाई उनीजस्तै स्वभाव भएको नेतृत्वको सबैभन्दा धेरै खाँचो थियो। द्वन्द्व र असझदारीबीच सेतुको भूमिका निभाउने बेला उनले असामयिक मृत्युवरण गर्नुपर्यो।
'समयभन्दा बलवान केही हुँदोरहेनछ। भगवानलाई पनि ललित दाइजस्तो व्यक्तिको काम परेछ होला। त्यसैले कठोर बनेर यहाँबाट चुँडेर लगे,' राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ भन्छन्, 'दुई कलिला बालकमात्र नभई समग्र फुटबलका अभिभावकलाई भगवानले खोसेर लगे।'
प्रकाशित: ७ श्रावण २०७३ ०३:१४ शुक्रबार