१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जगजित अस्ट्रेलियन क्लबमा

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगगित श्रेष्ठ अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन्। झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो श्रेणीको ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका हुन्।

अस्ट्रेलियामा रहेको नेपालीसम्मिलित यती एफसीको पहलमा जगजित ह्युममा आबद्ध भएका हुन्। जगजितले क्लबबाट मासिक १ हजार ५ सय अमेरिकी डलर पाउने गरी चारमहिने सम्झौता गरेको नागरिकलाई बताए।

जगजितले 'डेब्यु' खेलमै दुई गोल गरेपछि ह्युम युनाइटेडले शनिबार स्पोर्टिङ विटलिसियालाई ३–२ ले हराएको छ। स्टेटको दोस्रो डिभिजनको सिजनमा ८ खेल बाँकी छन्। आफ्नो फेसबुक स्टाटसमार्फत जगजितले अस्ट्रेलियामा सहयोग पुर्‍याउने यती एफसी र नेपालीलाई धन्यवाद दिएका छन्। उनले आफूमाथि देखाएको विश्वासका लागि अस्ट्रेलियन प्रशिक्षक रोब स्पासेभ्सकीप्रति आभार व्यक्त गरेका छन्।

जगजितले अस्ट्रेलियामा पाएको अवसरलाई खेलजीवनको नयाँ अध्यायमा लिएका छन्। 'यहाँ राम्रो गर्न सके प्रथम श्रेणीमा पनि पुग्न सक्छु। तर सरुवा बन्द भइसकेकाले त्यसका लागि अर्को सिजनसम्म पर्खनुपर्छ,' उनले भने।

रग्बीको बढी प्रभाव हुने कारण अस्ट्रेलियाको फुटबलमा फिटनेस महत्वपूर्ण हुने उनको अनुभव छ।

जगजितले २०११ मा जर्मनी तथा २०१४ मा पोल्यान्डमा केही समय प्रशिक्षण अवसर पाएका थिए। उनको तत्कालीन क्लब हिमालयन शेर्पाको पहलमा जगजितले जर्मनीको भिएफबी स्टुटगार्टको एकेडेमीमा एक महिना प्रशिक्षण गरेका थिए। त्यसको तीन वर्षपछि उनले पोल्यान्डमा जागिलोनिया बेलस्टोकमा अभ्यासको मौका पाए। राष्ट्रिय टोलीका पूर्व सहायक प्रशिक्षक रिचर्ड ओर्लोस्कीको सहयोगमा उनी पोल्यान्ड पुगेका थिए।

एन्फा एकेडेमीका उत्पादन भक्तपुरका २३ वर्षे जगजितले २०१० मा एएफसी च्यालेन्ज कपको छनोट चरणमा उत्तर कोरियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका थिए। राष्ट्रिय टोलीबाट ३१ खेलमा उनले १ गोल गरेका छन्।

उनीसम्मिलित रुस्लान थ्री स्टार क्लब गत वर्ष राष्ट्रिय लिग च्याम्पियन भएको थियो। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लबका पूर्व खेलाडी जगजितले गत सिजनको राष्ट्रिय लिगमा थ्री स्टारका लागि ६ गोल गरेका थिए। उनी नेपाली फुटबलले पछिल्लो वर्ष प्राप्त दुई ठूला सफलताका हिस्सेदार हुन्। उनी समावेश टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि उचालेको थियो। त्यस्तै फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली यू–२३ टोलीले स्वर्ण पदक जितेको थियो।

प्रकाशित: ३ श्रावण २०७३ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App