काठमाडौं- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चसँग पल्सर स्पोर्टस अवार्डका लागि सहप्रायोजन सम्झौता गरेको छ। स्पोर्टस अवार्डलाई उक्त इन्डस्ट्रिजको रुस्लान फुटबलले तीनवर्षका लागि सहकार्य गरेको हो।
मञ्चको आयोजनामा स्पोर्टस अवार्डको १३ औं संस्करण साउन ६ मा राजधानीमा आयोजना हुँदैछ। हरेक वर्ष नेपाली खेलक्षेत्रमा योगदान र सफलता हासिल गर्ने खेलाडी र खेलकर्मीलाई उक्त अवार्डमार्फत मञ्चले सम्मान गर्दै आएको छ।
जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले खेलकुदमा लागेका युवाहरूको उत्साह बढाउन अवार्डमा सहकार्य गरेको बताए। 'खेलकुद हरेक युवाको रोजाइमा पर्छ। धेरै युवा खेलकुदमा लागेका छन्,' उनलेे भने, 'स्पोर्टस अवार्डलाई प्रायोजन गर्न पाउँदा खुसी छौं। यसले देश र खेलकुदको विकासमा सहयोग पुर्याउने विश्वास छ। खेलकुदले हामीलाई पनि उत्साही भएर काम गर्न सिकाउँछ।'
प्रायोजनवापत रुस्लानले मञ्चलाई ३ लाख ५० हजार नगद तथा ५० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउने कार्यक्रममा जनाइयो।
सम्झौतामा मञ्चका अध्यक्ष महेश आचार्य र इन्डस्ट्रिजका संस्थापक अध्यक्ष शाहले हस्ताक्षर गरेका थिए।
जावलाखेल डिस्ट्रिलरीका चिफ अफ ब्रान्ड सुशील श्रेष्ठले स्पोर्टस अवार्डले नेपाली खेलकर्मीको योगदानको सम्मान गर्दै आएकाले उक्त कार्यक्रममा आफूहरू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरे। 'हामीले खेलकुदको विकासमा काम गरिरहेका छौं। यस्तो कार्यक्रममार्फत खेलकुद विकासमा काम गर्ने इच्छा थियो। आज त्यो पूरा भएको छ,' उनले भने।
अध्यक्ष आचार्यले रुस्लानको सहकार्यले अवार्डको उचाइ माथि पुग्ने विश्वास व्यक्त गरे। सानो रूपबाट अवार्ड सुरु गरेको स्मरण गर्दै उनले भने, 'अहिले स्पोर्टस अवार्ड नेपाली खेलकुदको प्रतिष्ठित कार्यक्रम हुन आइपुगेको छ।'
बितेको वर्ष प्राप्त उपलब्धिका आधारमा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीलाई पुरस्कृत गरिनेछ। त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट विधामा पनि खेलकर्मी पुरस्कृत हुनेछन्।
प्रकाशित: ३ श्रावण २०७३ ०३:०८ सोमबार