coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध हुन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित नेपाल तेक्वान्दो महासंघले नेपाली तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध भएर निकास खोज्न आग्रह गरेको छ।

नेपाल तेक्वान्दो महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो। एकै प्रकृतिका खेल भए पनि समानान्तर दुई संघको अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेजी गर्दै राखेपले नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएको तीन महिनाभित्र समान प्रकृतिका खेल संघ एक हुनुपर्ने प्रावधान छ। त्यसो नभएमा दुवै संघको दर्ता स्वतः खारेज हुने ऐनमा उल्लेख छ। तर, वर्षौ बितिसक्दा पनि संघ एक हुन सकेनन्।  

त्यस कारण राखेपका उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा रहेको संघसंस्था विवाद समितिले तेक्वान्दो संघसँगै उसु, शारीरिक सुगठन र बुद्धिचालको विघटन गरेको थियो। गत वैशाख ९ गते बसेको राखेपको ११३औं बोर्ड बैठकले कोइरालाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो। कोइराला विघटित उक्त राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्षसमेत हुन्। राखेपले प्रदीप जोशीको अध्यक्षतामा नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो। तर, अर्को पक्ष प्रकाशसम्सेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले भने कानुनविपरीत राखेपले संघ खारेज गरेको भन्दै उक्त निर्णय मानेको छैन।  

साथै राणा नेतृत्व संघले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै आन्दोलन पनि गरिरहेको छ। यता, राष्ट्रिय तेक्वान्दो संघ नेपालले भने राखेपको उक्त निर्णय स्वीकार गरिसकेको छ। नवगठित नेपाल तेक्वान्दो महासंघले मुद्दा विचाराधीन रहेकै अवस्थामा तेक्वान्दोका सरोकारवालालाई एक हुन आग्रह गरेको हो। पत्रकार सम्मेलनका अवसरमा राखेपका तालिम तथा प्रशिक्षण विभागका पूर्वप्रमुख एवम् नवगठिन महासंघका उपाध्यक्ष अर्जुनबहादुर विक र तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले पनि नेपालको तेक्वान्दो एक हुनुपर्ने धारणा राखेका थिए।

दुवैले विवाद समाधान समितिले वार्ताको क्रममा बोलाउँदा पनि राणा नेतृत्वको संघले चासो नदिएको कुरा उल्लेख गरे। श्रेष्ठले तत्कालीन नेपाल तेक्वान्दो संघले १३औं दक्षिण एसियाली खेलकुदमा सफलता दिलाउने आफ्नो नेतृत्वको प्रशिक्षण टोलीलाई काम गर्न नदिइएको आरोप पनि लगाए। साथै उनले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरसमेत नपाएपछि नेपालका एक दर्जन खेलाडी यसबीच बिदेसिएको बताएका छन्। छनोट भएर ओलम्पिक खेल्न सफल भए बापत सम्मान स्वरूप दिइएको भत्तामा समेत कटौती गर्दै संघले खेलाडी र प्रशिक्षकको आत्मसम्मानमा चोट पु¥याएको तेक्वान्दोकर्मीका आरोप थिए।  

महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागी हुन आग्रहसमेत गरेको छ। राखेपबाट पुनर्गठित महासंघको अध्यक्षमा संघका पूर्वउपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका जोशीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो। एन्फाका पूर्वमहासचिव एवम् पूर्वतेक्वान्दो खेलाडी इन्द्रमान तुलाधर उक्त महासंघको महासचिव छन्। उक्त टोली गत बुधबार सातदोबाटोस्थित तेक्वान्दो कार्यालयमा बहाली गर्न जाँदा विवाद भएको थियो।  

खारेज गरिएका संघका अध्यक्ष प्रकाशशमशेर राणाको नेतृत्व पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेपछि विवाद भएको थियो। एउटा पक्ष छाड्न तयार नभएको र अर्काे पक्ष तेक्वान्दो भवनभित्र छिर्ने विवादपछि प्रहरीले कार्यालयमा ताला लगाइदिएको थियो। तर, अहिले राणा नेतृत्वको विघटित संघले सहमति वपरीत एकतर्फी रूपमा ताला खोलेको महासंघको आरोप छ। 

प्रकाशित: १६ पुस २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App