४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

खोटाङमा ‘अनुप स्मृति गोल्ड कप’ को तयारी पुरा

अनुप स्मृति गोल्डकपबारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै आयोजक। तस्विरः महेश्वर।

खोटाङमा वर्षेनी हुँदै आएको ‘तेस्रो अनुप स्मृति आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता ०७९’ को तयारी पुरा भएको छ।

सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

जिल्लाकै सर्वाधिक धनराशिको खेल प्रतियोगिता मानिएको गोल्डकपको तयारी र सञ्चालनबारे बिहीबार आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। प्रतियोगिता मूल आयोजक समिति संयोजक सागर जोशीले बताए अनुसार प्रतियोगितामा खोटाङ र खोटाङबाहिरका गरी १० वटा खेल समूहले भाग लिनेछन्। खेल तालिका (टाई सिट) समेत सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा जनाइए अनुसार उद्घाटन खेलमा खोटाङको नेर्पा स्पोर्टस क्लब र सुनसरीको इनरुवास्थित एजुकेटेक इभेन्ट क्लबबिच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै दोस्रो दिनको खेलमा दिक्तेल फुटबल क्लब खोटाङ र खोटाङ फुटबल एकेडेमी खोटाङबिच प्रतिस्पर्धा हुने जानकारी गराइएको छ। प्रतियोगिताको तेस्रो खेल चियाबारी फुटबल क्लब इलाम र खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिकाबिच पौँठेजोरी हुने आयोजक समितिले जनाएको छ। चौथो खेलमा खोटाङकै खारम्बु स्पोर्टस क्लब खार्मी र ओखलढुङ्गाको माने भन्ज्याङ स्पोर्टस क्लबबिच स्पर्धा हुनेछ।

माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ र दिक्तेल फुटबल क्लबको संयुक्त आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए) को सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईले गर्ने तय भएको छ। विजेता टिमलाई २ लाख ५१ हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको उपविजेता टिमले १ लाख ११ हजार नगदसहित प्रमाणपत्र पाउनेछ। सेमिफाइनलसम्म पुग्ने २ टिमलाई २५/२५ हजारका दरले नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक जोशीले बताए।

प्रतियोगिताका म्यान अफ द टुर्नामेन्ट तथा सर्वाधिक गोलकर्ताले जनही ७ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षक तथा अनुशासित टिमले पनि पुरस्कार पाउनेछन्। उनीहरु प्रत्येकलाई नगद ५ हजार ५ सय ५५, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सयका साथ मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रथम संस्करणमा १ लाख ११ हजार १ सय ११ रुपैँया नगद पुरस्कार वितरण गरेको आयोजकले दोस्रो संस्करणमा १ लाख ५१ हजार १ सय ११ रुपैँया पुरस्कार बाँडेको थियो। यसअघिका दुई संस्करण ‘गोल्ड कप’ को रुपमा सञ्चालन भएकोमा यस वर्षको तेस्रो संस्करणदेखि ‘आमन्त्रित गोल्डकप प्रतियोगिता’का रुपमा सञ्चालन गर्ने निर्णय भएको हो। यो प्रतियोगिता विगत वर्ष गरिएको प्रतियोगिताबाट बचेको रकम, बिभिन्न चन्दादाता, स्थानीय तह र व्यापारिक कम्पनीको प्रायोजनमा आयोजना गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक सगुन ताम्राकारले बताए। 

सदरमुकाम दिक्तेलस्थित पुरानो बैंक चोकनजिक ०६८ जेठ २ गते सवारी दुर्घटनामा परी ज्यान गुमाएका माउन्ट एभरेष्ट बोर्डिङका विद्यार्थी अनुप राईको स्मृतिमा ०७३ देखि प्रतियोगिता सुरु भएको हो। नर्सरीका विद्यार्थी राईको सम्झनामा हरेक वर्ष बोर्डिङले प्रतियोगिता गराउन थाले बमोजिम पहिलो संस्करण २०७३ चैत २३ देखि २७ गतेसम्म र दोस्रो संस्करण २०७४ वैशाख २६ देखि ३१ गतेसम्म सञ्चालन भएको थियो।

पहिलो र दोस्रो संस्करणको प्रतियोगिता समयमै आयोजना गरे पनि तेस्रो वर्ष विश्वभर फैलिएको कोभिड महामारीका कारण हुन सकेको थिएन। तेस्रो संस्करणको प्रतियोगिता गर्नुअघि नै ०७५ चैत ११ गतेदेखि देशभर कोभिड विरुद्ध लकडाउन भएपछि रोकिएको प्रतियोगिता ५ वर्षपछि सुचारु गर्न लागिएको सहसंयोजक ताम्राकारले बताए।

प्रकाशित: १४ पुस २०७९ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App