२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

इष्टर्न ओपन गल्फः शुक्र च्याम्पियन

इष्टर्न ओपन च्याम्पियन शुक्र ट्रफी चुम्दै। तस्बिरः रोहित राई

घरेलु गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राई सुर्य नेपाल इष्टर्न ओपन च्याम्पियन भएका छन्।

पार ७० को कोर्षमा बिहिबार ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाए। यो कोर्षमा १७ अण्डरको रेकर्ड बनाउने उनी पहिलो खेलाडी हुन्। यसअघि सन् २०२० मा धरानका व्यवसायिक खेलाडी बलभद्र राई (मणि)ले ९ अण्डरको रेकर्ड बनाएका थिए। उनले यसअघि गोकर्ण गल्फ कोर्षमा ४ दिनको प्रतियोगितामा १८ अण्डर खेलेका थिए।

शुक्रले पहिले दिन ४ अण्डर ६६ स्कोर खेले भने दोस्रो दिन ६ अण्डर ६४ स्कोर गरेका थिए। तेस्रो दिन आज ९बिहिबार० उनले ७ अण्डर ६३ स्कोर गरे। बिहिबार फ्रन्ट नाइनमा ३ अण्डर ३३ खेल्ने क्रममा उनले तेस्रो, सातौं र नवौं होलमा बर्डी गरेका थिए। ब्याक नाइन ४ अण्डर ३० को कार्ड बनाउने क्रममा १० औं, १५ औं, १६ औं र १८ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाएका थिए।  

२४ बर्षीय च्याम्पियन शुक्रले ट्रफीसँगै नगद १ लाख ४० हजार पुरस्कार पनि हात पारेका छन्। सन् २०१९ मा प्रो टर्न भएपछि यो उनको छैटौं उपाधि पनि हो। उनले धरान ओपन गल्फ टुर्नामेन्ट २०२१, सुर्य नेपाल वेष्टर्न ओपन २०२१, सुर्य नेपाल सेन्ट्रल ओपन २०२२ र सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन २०२२ पनि जितेका थिए। ‘समग्रमा सोचेको भन्दा धेरै राम्रो भयो। जति सोचेको थिएँ, त्यो भन्दा राम्रो खेले, एकदमै खुशी छुँ,’ च्याम्पियन शुक्रले भने,‘यो कोर्षमा अहिलेसम्मको ३ दिनमा बेष्ट स्कोर ४ या ५ अण्डर थियो, यसपाली १७ पुर्याउन सके। ग्रिन पनि राम्रो थियो, भारत टुरको अनुभवले पनि राम्रो भयो। पटिङले पनि साथ दियो।’

सात स्ट्रोकले पछि परेका धराने गल्फर निरज तामाङ कुल ९ अण्डर २०१ स्कोरका साथ दोस्रो भए। उनले पहिलो दिन ५ अण्डर ६५, दोस्रो दिन १ अण्डर ६९ र तेस्रो दिन ३ अण्डर ६७ स्कोर खेलेका थिए। उनले नगद ९० हजार हात पारे। कुल ५ अण्डर २०५ स्कोरका साथ भुवन नगरकोटी तेस्रो हुँदै नगद ६७ हजार थापे। पहिलो दिन ३ अण्डर ६७, दोस्रो दिन इभन पार ७० खेलेका भुवनले तेस्रो दिन २ अण्डर ६८ स्कोर गरेका थिए। यस्तै, कुल ४ अण्डर २०६ स्कोर गरेर चौथो भएका सञ्जय लामाले नगद ५५ हजार हात पारे।

एमेच्योरतर्फ भने इभन पार २१० स्कोरका साथ स्थानीय गल्फर राजकुमार राई च्याम्पियन भए। उनी समग्रमा पाँचौ पनि भएका छन्। पहिलो दिन १ ओभर ७१ खेलका राजकुमारले दोस्रो दिन ३ अण्डर ६७ खेले भने तेस्रो दिन २ ओभर ७२ स्कोर गरे। कुल ३ ओभर २१३ स्कोरका साथ स्थानीय युवराज भुजेल एमेच्योरतर्फ उपविजेता भए।  

प्रतियोगतामा २९ व्यवसायिक खेलाडी र ११ एमेच्योर खेलाडीहरु भाग लिएका थिए। दोस्रो दिनको खेल सकिएपछि २१ व्यवासायिक र ६ एमेच्योर खेलाडीहरुले कट बनाएर फाइनल खेलेका थिए। खेलाडीहरुलाई सुर्य नेपालका ब्राण्ड मेनेजर विदुरराज अधिकारी, धरान गल्फ क्लबका सचिव भरत तामाङ, क्लबका कार्यसमिति सदस्य जगमोहन राई र सुर्य नेपालका रिजनल मेनेजर दामोदर शर्माले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा शुक्रबार प्रो एम स्पर्धा हुनेछ।  

प्रकाशित: १४ पुस २०७९ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App