२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चौथो चौदण्डीगढी मेयर कपको उपाधि बसाहालाई

मेयर कपमा खेलाडीलाई सम्बोधन गर्दै चौदण्डीगढी नरप्रमुख कालु लामा। तस्बिर: महेश्वर

बिपक्षी टिमको दोहोरो आत्मघाती गोलको पाइदा लुट्दै उदयपुृरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न ‘चौथो मेयर कप फुटबल प्रतियोगिता ०७९’को उपाधि वडा नं. ४ बसाहाले चुमेको छ। बिपक्षीकै आत्मघाती २ गोलले बसहालाई उपाधि हात पार्न सहज भएको हो।

चौदण्डीगढी ७ को बेलटारस्थित रामप्रसाद राई स्मृति रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा बसाहा ३–१ गोल अन्तरले विजयी भएको हो। नगरपालिकाका १० वटा वडामध्ये १ नं. बाहेक सबैको. सहभागिता रहेको प्रतियोगितामा ४ नं. बसाहा र १० नं. हडिया फाइनलमा पुगेका थिए। तर, बसाहालाई प्रतिस्पर्धी हडियाकै आत्मघाती २ गोलका कारण उपाधि चुम्न त्यस्तो धेरै मेहनेत गर्नै परेन।

खेल सुरु भएको ४ मिनटमै हडियाका खेलाडी शेखरमणि राउतले आत्मघाती गोल गरेर बसाहालाई विजयी यात्राको सुरुवात गराए। कर्नरमा आएको गोल बचाउने प्रयास गर्दा राउतले प्रहार गरेको बल आफ्नै कोर्टमा छिर्न पुगेको थियो। १८ औं मिनेटमा बसाहाका खेलाडी प्रदिप कार्कीले पहिलो गोल गर्दा विपक्षीको आत्मघाती गोलका कारण बसाहालाई २ गोलको नतिजा परिसकेको थियो।

२५ औं मिनेटमा हडियाका खेलाडी बिनोद कार्कीले गोल गरेर आत्मघातको सोधभर्ना गरे। तर, मध्यान्तरपछिको ६५ औं मिनटमा राउतकै खुट्टामा पुगेको बल अर्को पटक पनि आत्मघाती गोलमा परिणत हुन पुग्यो। राउतको दोस्रो आत्मघाती प्रहारले बसाहालाई ३ गोलको नतिजा प्राप्त हुन गयो। यसपटक भने आफ्नो समूहतर्फको बल क्लियर गर्न खोज्दा अर्कों प्रहार पनि दुर्भाग्यवश आफ्नै पोष्टको जालीभित्र छिर्न पुग्यो।

यसरी २ आत्मघाती गोलले हडिया स्तब्ध हुन पुग्दा बसाहा भने बिपक्षीको दोहोरो आत्मघाती गोलको नतिजा लिदै ३–१ ले विजयोत्सव मनाउन सफल भयो। विगतका ३ वटा प्रतियोगितामा लगातार उपविजेता भएको हडिया यसपटक उपाधिको बलियो दाबेदार रहे पनि आफ्नै कमजोरीले उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ।

आयोजक चौदण्डीगढी नगर खेलकुद विकास समितिका अनुसार फाइनल खेलको म्यान अफ द म्याच बसाहाका पवन कार्की घोषित भए। विधागततर्फ उत्कृष्ट प्रशिक्षक बसाहाका केशव राई पुरस्कृत हुँदा बसाहाकै अनिश बस्नेत उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता निश्चल राई, उत्कृष्ट गोलरक्षक निशान कार्की, उत्कृष्ट डिफेन्डर रुपेश राई र मिडफिल्डर नबल तामाङ घोषित भए। उत्कृष्ट स्ट्राईकरको उपाधि भने हडियाका बिनोद केसीले पाए।

उपाधि विजेता बसाहालाई ५० हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरियो। उपविजेता हडियाले २५ हजार नगद, मेडल र प्रमाणपत्र पाए। विजेता, उपविजेता तथा बिधागत खेलाडीहरुलाई नगरप्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, निवर्तमान नगरप्रमुख खगेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईले पुरस्कार, ट्रफि तथा प्रमाणपत्र प्रदान गरेका थिए।  

प्रकाशित: ११ पुस २०७९ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App