२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगरमा जारी दोस्रो ‘प्याब्सन विराट कप’रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि डनबस्को स्कुलले जितेको छ।

प्रतियोगिताअन्तर्गत फाइनल खेलमा डनबस्कोले मदरल्याण्ड एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो। जितका लागि निकुस खतिवाडले निर्णायक गोल गरे। उपाधिसँगै डनबस्को स्कुलले २५ हजार रुपैयाँका साथै रनिङ शिल्ड प्राप्त गर्‍यो भने मदरल्याण्डले १५ हजार रुपैयाँ प्राप्त गर्‍यो।  

मध्यान्तरअघि दुवै टोली गोल रहित बराबरीमा खेले पनि मध्यान्तरपछि डनबस्कोले पूरै दबाबमा राख्दै एक्लौटी खेलेको थियो। दबाबमा राखे पनि डनबस्कोले गोल संख्या बढाउन नसक्दा १ गोलमै सीमित हुनु पर्‍यो।  खेलका ४५ औं मिनेटमा निकुस खतिवडाले डिबक्सभित्रबाट गरेको प्रहारले चाली चुमाएको बल नै निर्णायक गोल बन्यो।  

प्रतियोगिताको व्यक्तिगततर्फका सबै पुरस्कार डनबस्को स्कुलका खेलाडीले प्राप्त गरे। बेस्ट मिडफिल्डर प्रशान्त खड्का, बेस्ट डिफेन्स एनएस अधिकारी, बेस्ट गोलरक्षक नैतिक बस्नेत, बेस्ट फर्वाड निकेश खतिवडा र बेस्ट प्रशिक्षक बिक्की कार्की भए।  

यस्तै बेस्ट प्लेयर अफ टुर्नामेन्ट मदरल्याण्ड एकेडेमीका प्रकाश शर्मा भए भने अनुशासित टिम विराट शिक्षा निकेतन स्कुल भयो। इमरजिङ प्लेयर अर्पण स्कुलका दिवस खतिवडा भए।  

खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मोरङ प्रहरी प्रमुख एसपी शान्तीराज कोइराला, मोरङ प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्याब्सन मोरङकी अध्यक्ष शीतला सुब्बा, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार वितरण गरे। पुस १ गतेदेखि भएको प्रतियोगितामा विराटनगरका २८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो।  

प्रकाशित: ९ पुस २०७९ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App