१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

मेयरकप साइकल दौडको उपाधि हिक्मत र लक्ष्मीलाई

मेयर कप साइकल दौडमा महिला प्रतिस्पर्धीहरू। तस्बिर: नागरिक

पोखरामा आयोजित दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन्।

बुधबार पोखरा–२१ कमेरेबाट सुरु भएको रेस मट्टिखान हुदैं विभिन्न ठाउँ घुमेर कमेरेमै आएर टुङ्गिएको थियो। ५० किलोमिटरको दुरी (दुई फन्को लगाएर) लाई विकले ३ घण्टा १२ मिनेटमा पुरा गर्दै उपाधि जिते।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साइक्लिङ संघ कास्कीको प्राविधिक सहयोग र साइकल सिटीको समन्वयमा भएको प्रतिस्पर्धामा सन्दीप सुन्धौलीले ३ घण्टा २८ मिनेट ३४ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थानमा आए। त्यसैगरी सुमित गुरुङले निर्धारित ५० किलोमिटरको दुरीलाई ३ घण्टा ४८ मिनेट ०९ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे।

महिला तर्फको सोही इभेन्टमा लक्ष्मी मगरले उपाधि आफ्नो नाममा लेखाइन्। उनले ५० किलोमिटरको दुरीलाई ३ घण्टा ३९ मिनेट ४९ सेकेन्डमा पुरा गर्दै उपाधि जित्दा अन्य दुई खेलाडीले भने दुरी पुरा गर्नै सकेनन्। सुधा राईले दोस्रो स्थान रहँदा सोफिया विश्वकर्मा तेस्रो स्थानमा आइन्। राई र विश्वकर्माले दुई ल्याप गरेर ५० किलोमिटरको दुरी पार गर्न सकेनन्। दुवैले केवल एक ल्याप (२५ किलोमिटर) मात्रै गरेको पोखरा महानगरपालिका खेलकुद विकास समितिले जनाएको छ।

त्यसैगरी ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा नारायण मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेन्डमा पुरा गर्दै माष्टर्सको उपाधि जिते। ४ घण्टा १ मिनेट २५ सेकेन्डमा पुरा गर्दै देवबहादुर बोहोराले दोस्रो स्थानमा आउँदा ५ घण्टा ८ मिनेट २७ सेकेन्डमा पुरा गरेका बाबुराम विश्वकर्मा तेस्रो स्थानमा रहे। कमल गुरुङ र जाम्फेल ढुण्डुपले सान्त्वना पुरस्कार थापे।

प्रतियोगितामा महिला तर्फ ३ जनाले सहभागिता जनाएका थिए। पुरुष तर्फको प्रतिस्पर्धामा १८ जना र माष्टर्स (४०वर्षमाथिको) उमेर समूहमा ६ जनाले सहभागिता जनाएका थिए। महिला तथा पुरुष विजेतालाई नगद ३०/३० हजार प्रदान गरिएको थियो। दोस्रो हुनेलाई २० हजार र तेस्रो हुने दुवैलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो।

माष्टर्स तर्फको विजेताले १०, ७ र ५ हजार पाउँदा सान्त्वनाले समेत समान ५/५ हजार रुपैयाँ प्राप्त गरे। विजेता खेलाडीहरूलाई विभिन्न व्यक्तित्वले नगद पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: ६ पुस २०७९ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App