५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पुस १३ देखि पोखरामा प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन

पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैंछ। कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो।  

प्रतियोगितामा नेपालका शीर्ष वरियता खेलाडीहरुसहित विभिन्न जिल्लाबाट सहभागिता रहने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले बताए। उनका अनुसार संघले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता पहिलो पटक हो। यसभन्दा अघि संघले विद्यालयस्तरीय र जिल्लास्तरीय एवं महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको थियो।  

पुरुष एकल, पुरुष युगल, महिला एकल, महिला युगल, खुल्ला मिक्स युगल, यु १७ छात्र तथा छात्रा, यु १२ छात्र तथा छात्रा, ३५ वर्षमाथिको भेट्रान्स, ४५ वर्षमाथिको भेट्रान्स र ५५ वर्षमाथि उमेर समूहको भेट्रान्स इभेण्ट प्रतियोगितामा समेटिएको छ । पुरुष एकल विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन्। पुरुष युगल विजेताले ५०, ३० र २० हजार रुपैयाँको राशी प्राप्त गर्ने संघका अध्यक्ष श्रेष्ठले बताए।  

महिला एकल र युगल विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताको हकमा २० हजार र तेस्रो स्थानमा रहने एकल र जोडीले पनि २० हजार रुपैयाँ नै प्राप्त गर्ने छन्। मिक्स इभेण्ट विजेताले पनि ३०, २० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यु १७ छात्र तथा छात्रा विजेताले १५, १० र १० हजार प्राप्त गर्ने संघले जनाएको छ। यु १२ छात्र तथा छात्राले पनि १५, १० र १० हजार नै पाउने छन्।  

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीले ३०, २० र २० हजार रुपैयाँ पाउँदा ४५ वर्ष र ५५ वर्षमाथिको उमेर समूहको विजतो तथा उपविजेता र तेस्रो स्थानमा आउने खेलाडीहरुले पनि समान ३०, २० र २० हजार रुपैयाँ पुरस्कार पाउने छन्। पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा खेलाईने छ। हलको चारैवटा कोर्टमा प्रतियोगिता सञ्चालन गरिने छ। संघले प्रत्येक विधामा ८ कम्तीमा टिम सहभागि नभएको अवस्थामा उक्त टिम  स्वतह रद्द हुने जनाएको छ। संघले खेलाडीले पहेलो कार्ड पाएको अवस्थामा १ हजार, रेड कार्ड पाएको अवस्थामा २ हजार र ब्ल्याक कार्ड पाएमा ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ र नेपाल व्याडमिन्टन संघको नियमानुसार कार्वाही समेत गरिने उल्लेख गरेको छ। खेलाडीले अनिवार्य रुपमा आफनो परिचयपत्र पेश गर्नुपर्ने छ।  

प्रकाशित: ४ पुस २०७९ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App