८ वैशाख २०८१ शनिबार
खेल

मनको मैदानमा विश्वकप रोमाञ्चकता

कतारमा जारी विश्वकप फुटबलको रमाइलो संसारभरका दर्शकले विभिन्न माध्यमबाट लिँदै छन्। केटाकेटीदेखि पाकासम्म सबैलाई यसको ‘ज्वरो’ले छोएको छ। यस्तोमा नेपालका दृष्टिविहीन पनि के कम? उनीहरू टेलिभिजनअगाडि बसेर ‘मनको मैदान’ मा विश्वकप नियाल्दै छन्।

‘हामीले युरोकपदेखि विश्वकपमा जहिले पनि फुटबलको रमाइलो लिँदै आएका छौं,’ काठमाडौं जोरपाटीका ३२ वर्षीय दृष्टिविहीन सुशील अधिकारी भन्छन्, ‘टेलिभिजनअगाडि बसेर ‘कमेन्टेटर’ले बोलेका आधारमा मनमा मन परेका खेलाडीको आकृति बनाउँदै रमाइरहेका हुन्छौं।’

सानै उमेरमा आखाको ज्योति गुमेसँगै उनले फुटबल खासै छोएका छैनन्। तर उनलाई कतारमा जारी विश्वकप फुटबलले मज्जाले छोएको सुनाए। मेसीका फ्यान रहेका उनले शनिबार राति हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल म्याच हेर्न आतुर रहेको सुनाए।

‘सुरुदेखि नै अर्जेन्टिनाको पक्षमा हु,’ उनले भने, ‘यति बेला मेसीले विश्वकप उचालेको कल्पनासमेत गरिरहेको छु।’ कमेन्टेटरले बोलेका आधारमा तथा विभिन्न अनलाइन तथा समाचारका आधारमा विभिन्न खेलाडीका बारेमा जानकारी राख्ने गरेको उनले बताए। हातमा रहेको स्मार्ट फोनले पनि विश्वकपबारे जानकारी राख्न निकै सजिलो भएको उनले सुनाए। फ्रान्सका चर्चित खेलाडी एम्बाप्पेका बारेमा समेत जानकारी राखेका उनले अर्जेन्टिनाका लागि फाइनल ‘मुकाबिला’ कठिन हुने तर जित भने अर्जेन्टिनाकै हुने विश्वास व्यक्त गरे। ‘त्यो कठिन म्याचको पनि हामी साक्षी हुने छौं,’ उनले भने, ‘रेफ्रिले सिट्ठी फुक्नु अगावै अहिल्यै देखिनै हाम्रो मनमा फुटबल सुरु भइसकेको छ।’

अधिकारीले अर्जेन्टिनाको पक्षमा बोलिरहँदा नवलपरासी देवचुलीका २२ वर्षीय सौगात वाग्लेले फ्रान्सले उपाधि जित्ने अनुमान गरे। उनको मन परेका खेलाडी रोनाल्डो र टिम पोर्चुगल बाहिरिए पनि फाइनल खेलमा भने फ्रान्सको पक्ष लिएको सुनाए। ‘अब फ्रान्स र एम्बाप्पेको पक्षमा फुटबल हेर्छौं,’ उनले भने, ‘जितहार जसको भए पनि हामीलाई फुटबलले खुसी दिएर जाने गरेको छ।’

फुटबल नखेले पनि, नदेखे पनि अन्ततः यसले खुसी भने सधैं दिने गरेको उनी सुनाउँछन्। ‘फुटबल मनमा उफ्रिरहन्छ,’ उनले भने, ‘हामी त्यसमै रमाइरहेका छौं।’

साथीभाइसँग फुटबलमा रमाउँदै आएका उनी हुटिङका आधारमा रमाउने गरेको सुनाउँछन्। ‘जब कुनै टिम गोलको नजिक पुग्छ, त्यतिबेलाको आवाज निकै रमाइलो लाग्छ,’ उनले भने, ‘त्यो गोल ‘मिस’ भयो भने हाम्रो मन पनि अचानक खल्लो हुन्छ।’

आखाले खेलाडीलाई देख्न नपाए पनि दृष्टिविहीनहरू दर्शकको आवाज र कमेन्टेटरको आधारमा मन पर्ने खेलाडी मैदानको कुन भागमा रहेकोसमेत कल्पना गर्ने गरेको बताउँछन्। ‘मेसी-मेसीको आवाज गुन्जँदा मेरो मानसपटलमा गोलपोस्टतिर दौडिरहेका हट्टाकट्टा युवाको आकृति आउने गर्छ,’ दृष्टिविहीन अधिकारी थप्छन्, ‘त्यो क्षण हाम्रा लागि निकै रमाइलो हुन्छ।’

त्यस्तै धारणा राख्छन् दृष्टिविहीन सुजन श्रेष्ठ पनि। नेइमार र एम्बाप्पेका फ्यान उनी जसले गोल गरे पनि रमाइलो लाग्ने सुनाउँछन्। त्यस्तै धारणा राख्छन् वासुदेव अधिकारी पनि। उनी खेल्ने टिमजत्तिकै आफूहरू पनि फुटबलमा रमाइरहेको सुनाउँछन्। ‘समग्रमा म फुटबलमा रमाइरहेको छु,’ दृष्टिविहीन वासुदेवले भने, ‘नदेखे पनि फुटबल प्यारो लाग्न थालेको छ।’ 

प्रकाशित: २ पुस २०७९ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App