१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

कोरियाली प्रशिक्षकले लिए बिदाइ

दक्षिण कोरियाको प्रशिक्षण करियर निकै यादगार बनेको भन्दै पाब्लो बेन्टोले भावुक भएर टोलीबाट बिदाइ हुने निर्णय लिएका छन्।

कतारमा जारी विश्वकप फुटबलअन्र्तगत दक्षिण कोरिया ब्राजिलसँग ४–१ ले पराजित भएसँगै भावुक बनेका बेन्टोले कोरियाको प्रशिक्षणअवधि सदाका लागि सम्झनलायकको भएको र टोली छाड्ने निर्णयमा पुगेको जनाएका हुन्। अन्तिम १६ मा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई नतिजा सुम्पिँदा कोरियाको विश्वकप यात्रा समाप्त भएको थियो। पोर्चुगलका पूर्वमिडफिल्डर बेन्टोले एसियाली राष्ट्रलाई नकआउट चरणमा पुर्‍याउँदा कोरियाली फुटबलमा नयाँ इतिहास बन्न पुगेको थियो।  

५३ वर्षीय बेन्टोले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रशिक्षकमा नरहने र टोलीले विश्वकप भ्रमण गर्दा सहयोग गर्ने सबैलाई आभारसमेत प्रकट गरेका छन्। उनले विशेष गरी खेलाडी र व्यवस्थापकलाई धन्यवाद दिएका छन्।  

‘म विशेष गरी खेलाडी र उनीहरूले देखाएको प्रदर्शनलाई सम्मान गर्छु। उनीहरूले मेराप्रति गरेको विश्वासमा कृतज्ञ छु। यसै विज्ञप्तिमार्फत कोरियाको जिम्मेवारीबाट हट्न चाहन्छु,’ बेन्टोले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘कोरियाली फुटबलले राम्रो अनुभव बटुल्ने अवसर दियो। यो अवसर र यहाँको अनुभव म कहिल्यै पनि बिर्सन सक्दिनँ। सहयोगी सबैप्रति म निकै आभारी छु।’

बेन्टो प्रशिक्षकको जिम्मेवारीबाट हटेपछि कोरियाले फेब्रुअरीमा नयाँ प्रशिक्षक ल्याउने कोरियाका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एसियाली राष्ट्रको प्रतिनिधित्व गरेको कोरियाले कतार विश्वकपअन्तर्गत समूहचरणको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी गर्दै दोस्रो खेलमा घानालाई ३–२ को नतिजा सुम्पिएको थियो। उता क्रिस्टियानो रोनाल्डोको टोलीलाई २–१ ले स्तब्ध बनाएको कोरिया अन्तिम १६ को खेलमा ब्राजिलसँग ४–१ ले स्तब्ध बनेको थियो।

प्रकाशित: २९ मंसिर २०७९ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App