coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अफ्रिकी प्रशिक्षकको चमत्कार

वादिज रिगरेगीले मोरक्कोको प्रशिक्षण सम्हालेको मात्र चार महिना भयो। तर उनले मोरक्को टोलीलाई कतार विश्वकप २०२२ मा डार्कहर्सका रूपमा उभ्याउँदै आफ्नो क्षमता मात्र प्रमाणित गरेका छैनन्, रिगरेगी कुनै पनि टोलीलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउने पहिलो अफ्रिकी प्रशिक्षक समेत भएका छन्।

बुधबार स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्कोले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो।

अगस्टमा तत्कालीन प्रशिक्षक भाहिद हालिलहोजिक फुटबल संघसँग फरक मत राखेको भन्दै बर्खास्तमा परेपछि रिगरेगीले मोरक्कोको प्रशिक्षण सम्हालेका थिए। तर रिगरेगीले प्रशिक्षण सम्हाले यता सात खेलमा मोरक्कोले आफ्नो अपराजित यात्रा कायम राखेको छ। यस क्रममा मोरक्कोले मात्र एक गोल खाएको छ। जुन क्यानडाविरुद्धको आत्मघाती गोल उपहार थियो। पोर्चुगलमाथिको जित रिगरेगीका लागि अर्को उपलब्धि हासिल गर्ने माध्यम बन्नेछ।

अहिलेसम्म कुनै पनि अफ्रिकी टोलीले विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सकेका छैनन्। जुन सुनौलो अवसर मोरक्कोले पाएको छ। सन् १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घानाले क्वार्टर फाइनलसम्मको यात्रा तय गरेका थिए।

‘हामी सक्षम छौं भन्ने विश्वास नै हाम्रो क्वार्टरफाइनलसम्मको यात्राको प्रमुख कारण थियो, जुन पोर्चुगलविरुद्धको क्वार्टरफाइनल खेलमा पनि कायम छ,’ रिगरेगीले भने, ‘हामी आफ्नो क्षमता र मिहिनेतले यहाँसम्म पुगेका हौं। भाग्यले होइन।’

सन् १९८६ पछि पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरिरहँदा मोरक्कोले मंगलबार विरलै मात्र स्पेनको पोस्टमा आक्रमण गरेको थियो।

‘बल पोसेसनले मात्र खेलको नतिजा निर्धारण गर्ने भन्ने छैन,’ उनले भने, ‘स्पेनविरुद्ध हामी बल पोसेसनमा कमजोर थियौं। त्यो हामी दबाबमा परेर होइन, टोलीको रणनीति नै त्यही थियो, पाएका अवसर सदुपयोग गर्ने। हामीले चार दिन लगाएर स्पेनको खेल अध्ययन गरेका थियौं। उनीहरूबाट बल खोस्न कठिन थियो। त्यसैले हामीले त्यही अनुसारको रणनीति लिएका थियौ, जुन सफल पनि भयो। पोर्चुगलविरुद्ध पनि हामीले केही विशेष रणनीति तयार पारेका छाैं, जुन  तपाईले मैदानमा हेर्न सक्नुहुन्छ।’

त्यसो त हालिलहोजिकले अनुशासनविपरीतको कार्य गरेको भन्दै हाकिम जिएच र नौसायर माजारोईलाई टोलीबाट हटाएका थिए। जुन निर्णय उनलाई मोरक्कोको टोलीबाट बर्खास्तगीमा पर्ने प्रमुख कारण बन्यो। रेगरेगीले भने जिएच र माजारोईलाई समावेश गर्दै विश्वकपको टोली घोषणा गरे। जो मोरक्कोको उपलब्धिको प्रमुख खेलाडी साबित भएका छन्।

फ्रान्समा जन्मिएका रिगरेगीले आफ्नो व्यासायिक खेलजीवन पनि त्यहीँ टुङ्ग्याएका थिए। उनले मोरक्कोबाट ४५ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

प्रकाशित: २४ मंसिर २०७९ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App