coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अप्रत्याशित नतिजाको प्रतीक्षा

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२६ मा ३२ बाट ४८ राष्ट्रमा फड्को मारेपछि आगामी विश्वकप अहिलेसम्मै ठूलो हुनेछ। यसो हुँदा फुटबलमा तथाकथित सानो भनिएका टोली जो कतारमा पुग्न सकेका थिएनन्, ती राष्ट्रले पनि अमेरिका, क्यानडा र मेक्सिकोको आतिथ्यमा इतिहासकै ठूलो अवसर पाउनेछन्। त्यो आयोजना सबै राष्ट्रका लागि खुसीको खबर हो, जसले लियोनल मेसीको टोली साउदी अरेबियासँग विश्वकपमा स्तब्ध भएको हेरेका थिए।  

त्यति मात्र होइन, जापानले त चार पटकको विश्वविजेता जर्मनी र एक पटकको विश्वविजेता स्पेनलाई नै हरायो। अफ्रिकन टोली मोरक्कोले पनि फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूहचरणमा हराउँदा विश्वकपकै दाबेदार मानिएको स्पेनलाई अन्तिम १६ मा स्तब्ध बनाउँदै अप्रत्याशित रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ। अब चार वर्षमा फेरि त्यस्तै अप्रत्याशित नतिजा देखिने नै छन्। तर, अहिले पनि अझै ठूला टोली कतिवटा खेलमा स्तब्ध हुने हुन् भन्ने यकिन गर्न सकिने अवस्था छैन। किनकि मोरक्कोको प्रदर्शन लोभलाग्दो छ।  

यसबीच ४८ टोली बढाउँदा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराएजस्तै केही नतिजा त्यति बेला पनि आउन सक्छ। एकपक्षीय खेल नहोला भन्ने पनि सकिँदैन ? किनकि कोस्टारिकाविरुद्ध स्पेनको ७–० को नतिजाले पनि प्रमाणित गर्छ। इङ्ल्यान्डले इरानमाथि ६–२ र फ्रान्सले अस्ट्रेलियामाथि ४–१ को एकपक्षीय नतिजाले पनि ४८ राष्ट्रमा विश्वकपको आकार बढाइनु सही होला भन्ने प्रश्न पनि उठेको छ ? फिफाले तल्लो स्तरका अन्तर्राष्ट्रिय फुटबल टोलीका बारेमा राम्रोसँग अध्ययन गर्नुपर्छ। किनकि कतार समूहका सबै खेल गुमाउने इतिहासकै पहिलो आयोजक राष्ट्र बनेको थियो।

‘अब हामीले १६ वटा राम्रो टोली खोज्नुपर्छ,’ फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख एवम् ४८ टिम निर्माण समितिका मुख्य व्यक्ति आर्सेन वेंगरले भने। फिफाले विश्वभर नै फुटबल स्तर विकासका लागि काम गरिरहेको छ। विश्व खेलकुदकै मेघा आयोजना विश्वकप फुटबल २ सय ११ सदस्य राष्ट्र र स्वशासित राष्ट्रका मानिसले पनि हेर्ने गरेका छन्। त्यसैले फिफा विश्वकपका टिभी दर्शक ठूलो मात्रामा छन्। ‘यदि अझ धेरै संख्यामा विश्वकप खेलिँदा हामीले थप धेरै विकास गर्न पनि सक्छौं भन्नेमा मेरो विश्वास छ,’ वेंगरले भनेका छन्। पहिलो पटक मध्य एसिया कतारमा विश्वकप आयोजना भएको हो।  

प्रायजसो फिफाले युरोपको मध्यभागमा या दक्षिण अमेरिकामा फुटबल आयोजना गर्ने गर्छ। सन् २०१७ मा फिफाले ४८ राष्ट्रमा विश्वकप आयोजना गर्ने योजना सुनाउँदा धेरै आलोचना खेप्नुप¥यो। अझै पनि फिफाले कुन फम्र्याटमा त्यो आयोजना गर्छ भन्ने तय भइसकेको छैन। सुरुमा फिफाले तीन टोलीको एक समूह गरी १६ वटा समूह निर्माण गर्ने संकेत गरेको थियो। तर, फिफाको त्यो योजनाबारे ठूलो आलोचना खेप्नुपर्‍यो। अब फिफासँग चार टोलीको एक समूह गरी १२ समूह बनाउने अर्को विकल्प पनि छ। तर, वेंगरले निर्णय निर्माण काउन्सिलले अहिलेसम्म त्यसबारे निकै तय गरिनसकेको धारणा राखे।  

कतारमा जापानसहित तीन एसियन राष्ट्रले अन्तिम १६ मा स्थान बनाउन सफल भए, जुन यसअघि कहिल्यै पनि भएको थिएन। अफ्रिकन टोलीले पनि समूहचरणमा इतिहासकै धेरै अंक बटुलेका थिए। अर्को अफ्रिकन टोली मोरक्को त गत संस्करणको उपविजेता रहेको समूहमा नै विजेता बन्यो। उसले समूहमा गत संस्करणकै सेमिफाइनलिस्ट बेल्जियमलाई स्तब्ध बनायो। क्यामरुनले ब्राजिललाई हराउँदै विश्वकप इतिहासमै ब्राजिललाई हराउने पहिलो अफ्रिकन राष्ट्र बन्यो। त्यो विजयमा अफ्रिकन टोलीले धेरै विजयोत्सव पनि मनायो।  

‘हेर्नुस्, विश्वकप कस्तो भइरहेको छ,’ सेनेगलका प्रशिक्षक एलियु सिसेले भने, ‘यो ३० वर्षअगाडिको विश्वकप जस्तो छैन, जहाँ ठूलो माछाले साना सर्लक्कै खान्थ्यो।’ विश्वकपमै जापानका विंगर ताकेफुसा कुबोले पनि भनेका थिए,‘उनीहरूले एसियालाई हलुका लिने छैनन्।’ घानाका प्रशिक्षक ओटो एडोले विश्वकपमा अझै धेरै स्थानका लागि अफ्रिकन राष्ट्र योग्य रहेको धारणा राखेका थिए। तथापि, यो विस्तारले विश्वकपको अन्तिम नतिजामा भने असर नपर्न सक्छ। सिसेले भनेजस्तै युरोप र दक्षिण अमेरिका ठूला माछा नै साबित भइरहेका छन्। अहिलेसम्म २१ वटा विश्वकप उपाधि तय हुँदा युरोपले १२ र दक्षिण अमेरिकी राष्ट्रले ९ उपाधि जितेका छन्।

विश्वकपको सय वर्षको इतिहासमा यीबाहेक अन्य महादेशका कुनै पनि राष्ट्र फाइनलमा पुग्न सकेका छैनन्। अहिलेसम्मको ८४ वटा सेमिफाइनलिस्टमध्ये ८२ वटा युरोप या दक्षिण अमेरिकाका हुन्। सन् १९३० मा अमेरिका र सन् २००२ मा दक्षिण कोरिया अपवादमा छन्। कतार विश्वकपमा पनि युरोप र दक्षिण अमेरिकी टोली नै हाबी छन्। किनकि क्वार्टरफाइनलमा यीबाहेकका एउटा मात्र टोली मोरक्को छ। मोरक्कोले पनि शनिबार पोर्चुगलको सामना गर्नेछ। यसअघि दक्षिण कोरिया, जापान, सेनेगल, अमेरिका र अस्ट्रेलिया अन्तिम १६ बाटै बाहिरिएका थिए।  

सेसेको टोली सेनेगल इङ्ल्यान्डसँग ३–० ले स्तब्ध हुँदा एसियाको तेस्रो स्थानको टोली दक्षिण कोरिया ब्राजिलसँग ४–१ ले पराजित हुन पुग्यो। त्यति बेला दक्षिण कोरियाका स्टार सन ह्युङ मिनले इस्र्या गर्दै भनेका थिए, ‘उनीहरूको खेलाडी कस्ता छन् हेर्नुस्।’ तर, खेल स्तरभन्दा पनि विश्वकपको आकार बढ्नुले अवसर भने बढ्नेमा दुई मत छैन। सन् २०१८ को रसिया विश्वकपको आँकडाअनुसार विश्वको जनसंख्याको तुलनामा करिब आधा जनसंख्याले विश्वकप हेरेको फिफाले जनाएको थियो। यस कतार विश्वकपमा फिफाले कमर्सियल सम्झौताबाट मात्र ७.५ बिलियन कमाइ गर्न सफल भयो। जुन खेलको लोकप्रियताकै कारण सम्भव भएको हो। ३२ टोलीबाट ४८ मा पुग्दा अझ धेरै मानिसले विश्वकप हेर्नेछन्।

प्रकाशित: २३ मंसिर २०७९ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App