२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

यूएईविरुद्धको खेल सुरु हुन केही मिनेट बाँकी, दर्शकको उपस्थिति न्यून

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुरु हुन १० मिनेट मात्र बाँकी रहँदा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने तुलनात्मक रूपमा निकै न्यून देखिएको छ।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको छ भने युवा स्पिनर सन्तोष यादवले यसै खेलमार्फत राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्दैछन्।

तर, खेल सुरु हुने समय नजिकिँदा पनि विगतका खेलहरूमा जस्तो प्यारापिटमा दर्शकको खचाखच उपस्थिति भने देखिएको छैन।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो। सो खेलका क्रममा वर्षा बाधक बनेपछि खेल लामो समय रोकिएको थियो। जसका कारण झरीमा रुझेका दर्शकले सास्ती खेप्नुपरेको थियो।

नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले आजको खेलमा सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखे पनि दर्शकको न्यून उपस्थितिले मैदानको माहोल भने सुनसान जस्तै देखिएको छ।

यद्यपि, खेल अघि बढ्दै जाँदा दर्शकको संख्या बढ्न सक्ने अपेक्षा गरिएको छ। यूएईले अब केही बेरमा ब्याटिङ सुरु गर्दैछ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी (कप्तान), गुल्सन झा, सन्तोष यादव, आरिफ शेख, शाहब आलम, नन्दन यादव, सन्दीप लामिछाने र हेमन्त धामी।

प्रकाशित: ८ वैशाख २०८३ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App