४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह पदमुक्त

सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भए पनि सूचना लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहलाई पदबाट हटाइएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) की अध्यक्ष गिता चौधरीको निर्देशनमा साहलाई जिम्मेवारीबाट मुक्त गरी छानबिन सुरु गरिएको हो।

कोषले चिडियाखानामा फैलिएको संक्रमण र वन्यजन्तुको मृत्युबारे विस्तृत अनुसन्धान गर्न प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिका सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा. मधु क्षेत्री रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा गम्भीर लापरबाही गरेको भन्दै कोषले साहलाई चिडियाखाना प्रमुखको जिम्मेवारीबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको छ।

चिडियाखानामा करिब १० दिनअघिदेखि नै पन्छी र वन्यजन्तु मर्न थालेको भए पनि साहले यसबारे कोषको केन्द्रीय कार्यालयलाई कुनै जानकारी नदिई घटना गुपचुप राखेको आरोप छ।

पशु सेवा विभागमा गरिएको नमुना परीक्षणका क्रममा चिडियाखानाका पन्छी र जनावरमा बर्ड फ्लु पुष्टि भएको थियो। चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि गरिएको ल्याब परीक्षणमा बकुल्ला, लाटोकोसेरो र गिद्धमा संक्रमण फेला परेको हो। यस्तै, जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु पुष्टि भएको कोषले जनाएको छ।

रोग संक्रमणका कारण वन्यजन्तुहरू मरेको लामो समय बितिसक्दा पनि जिम्मेवार निकायलाई समयमै ‘रिपोर्टिङ’ नगरेका कारण साहमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो।

मन्त्री चौधरीले संवेदनशील विषयमा सूचना लुकाउनु गम्भीर त्रुटि भएको उल्लेख गर्दै तत्काल साहलाई हटाएर छानबिन गर्न निर्देशन दिएका थिए।

साहलाई जिम्मेवारीबाट हटाइएपछि चिडियाखानाको प्रशासनिक नेतृत्वमा रिक्त रहेको स्थानमा वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

अहिले चिडियाखानामा बर्ड फ्लु प्रभावित क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ भने अन्य वन्यजन्तुमा संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको छ।

मानवीय स्वास्थ्यमा समेत जोखिम हुन सक्ने भन्दै स्वास्थ्य मापदण्डको पालनामा कडाइ गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित: ६ असार २०८३ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App