३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

उनको देब्रे जुत्तामा इराक, दाहिनेमा पाकिस्तान

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी जिदान इकबालले मंगलबार इराकका तर्फबाट मैदान प्रवेश गरेसँगै पुरुष फुटबल विश्वकपको इतिहासमा नयाँ कीर्तिमान रच्ने भएका छन्।

उनी पुरुष विश्वकप खेल्ने पहिलो पाकिस्तानी मूलका खेलाडी बन्नेछन्। यस क्षण २४ करोडभन्दा बढी जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र पाकिस्तानका फुटबल प्रशंसकहरूका लागि ऐतिहासिक हुनेछ।

फिफा वरीयतामा १९८औँ स्थानमा रहेको र अहिलेसम्म कहिल्यै विश्वकप खेल्न नसकेको पाकिस्तानका खेलप्रेमीहरूले पहिलो पटक विश्वकपको ठूलो मञ्चमा आफ्नो मूलका खेलाडीलाई प्रतिनिधित्व गरिरहेको देख्न पाउनेछन्।

हाल डच क्लब उट्रेचबाट व्यावसायिक फुटबल खेलिरहेका २३ वर्षीय मिडफिल्डर इकबालको जन्म म्यानचेस्टरमा भएको हो। उनका पिता पाकिस्तानी र आमा इराककी हुन्।

दुवै देशको पृष्ठभूमिप्रति सम्मान व्यक्त गर्दै उनले आफ्नो देब्रे जुत्तामा इराक र दाहिने जुत्तामा पाकिस्तानको झण्डा अंकित गरेका छन्। ‘म दुवै पक्षलाई उत्तिकै सम्मान गर्छु। मेरो बुबा पाकिस्तानी हुनुहुन्छ र उहाँप्रति मेरो मनमा उच्च सम्मान छ,’ इकबालले भने।

यसअघि म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट निस्किएका इकबाल झन्डै २० वर्षपछि च्याम्पियन्स लिग खेल्ने पहिलो बेलायती दक्षिण एसियाली खेलाडी बनेका थिए। आफ्नो खेल यात्राले दक्षिण एसियाली मूलका वा जुनसुकै पृष्ठभूमिका बालबालिकाहरूलाई व्यावसायिक फुटबलर बन्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे।

‘पाकिस्तानी ट्यालेन्ट्स’ सामाजिक सञ्जाल पेजका सञ्चालक अहमद शहजादका अनुसार हरेक पाकिस्तानी फुटबल प्रशंसक जिदान इकबालबारे जानकार छन्। ‘जिदानलाई विश्वकप जस्तो उच्च मञ्चमा प्रतिस्पर्धा गरिरहेको देख्दा पाकिस्तानी समुदायका युवाहरूमा फुटबलमा केही गर्न सकिन्छ भन्ने विश्वास बढेको छ। यसपटक धेरै पाकिस्तानीहरूले विश्वकपमा इराकलाई समर्थन गरिरहेका छन्,’ शहजादले भने।

इराक २१ खेलको कठिन छनोट यात्रा पार गर्दै विश्वकपमा पुग्ने अन्तिम टोली बनेको थियो। यसअघि सन् १९८६ को मेक्सिको विश्वकपमा सहभागिता जनाएको इराक ४० वर्षपछि पुनः मेक्सिककै सह-आयोजनामा हुन लागेको विश्वकपमा फर्किएको हो।

यसपटक इराक रहेको समूहमा दुई पटकको विजेता फ्रान्स, मार्टिन ओडेगार्ड र एर्लिङ हालान्ड सम्मिलित नर्वे तथा सेनेगल रहेका छन्।

आफ्नो टोलीलाई कम आँकिए पनि उत्कृष्ट नतिजा निकाल्नेमा इकबाल आशावादी छन्। उनले थपे, ‘हामीमाथि कुनै दबाब छैन। हामी यहाँ कमजोर टोलीका रूपमा आएका हौं। यदि हामीले जित्यौँ भने विश्वलाई चकित पार्नेछौं।’

प्रकाशित: २ असार २०८३ २०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App