२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्दै युवा

जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ। सो अभियान अन्तर्गत कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पुर्याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्किन निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको हो। 

दसैँका अवसरमा यही असोज १६ देखि १९ गतेसम्म तथा तिहारका अवसरमा आगामी कात्तिक ५ देखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिए। 'गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ। त्यतिबेला ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए,' उनले भने, 'यस वर्ष अभियानको दोस्रो संस्करण हो। यसमा हाम्रो कुनै स्वार्थ छैन। नितान्त मानवीय सेवाभावले गर्न लागिएको हो।'

यस वर्षका लागि अभियानमा हालसम्म २५ युवाले स्वतःस्फूर्त सहभागी हुने गरी नाम दर्ता गराइसकेको जनाइएको छ। मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले जनाएको छ। 

अभियानअन्तर्गत सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ। स्वयंसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र हुनुपर्ने छ। 

प्रकाशित: १४ आश्विन २०८२ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App