१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

म्याग्दीमा धादिङका युवा ज्यालामा सुन्तला टिप्दै

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्। विद्यालय र क्याम्पस तहका उनीहरू पढाइ र घरखर्च चलाउन कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन्। मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरू भदौ, असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन्।

झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदार मार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका धादिङको रुबीभ्याली गाउँपालिका–५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामबाट मौसमी रोजगारी मिलेको बताए।

“पढाइ र घरखर्च चलाउने पैसा जुटाउन सुन्तला टिप्न आएको हो”, उनले भने, “तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइ निरन्तरता दिने हो।”

यहाँका बगैँचामा सुन्तला टिप्न आउनेमा अधिकांश धादिङ र गोरखाका मजदुर छन्। जिल्लाभर २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगार पाएका बताइएको छ। यहाँका बगैँचामा फलेका सुन्तला टिप्ने र बजार पठाउन हिजोआज किसान तथा मजदुरलाई भ्याइनभ्याइ छ। सुन्तला टिप्दा उनीहरूले खाना खाएर मासिक १५ देखि २० हजार र दैनिक ७०० देखि ८०० रूपैयाँ ज्याला पाउने गरेका छन्।

बोटमा सुन्तला टिप्ने, ग्रेडिङ, गाडीमा लोड र अनलोड गर्न मजदुरको आवश्यकता पर्छ। सुन्तलाखेती गरेका किसानका साथै स्थानीय र अन्य जिल्लाका मजदुरहरूलाई रोजगारी मिलेको बेनी–३ राखुकी भविकला रानाले बताइन्।

गत वर्ष म्याग्दीबाट ३३ करोड मूल्य बराबरको चार हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो। जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षको मात्रामा सुन्तला उत्पादन हुने अनुमान गरिएको बताए।

राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन्।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ। यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन्। 

प्रकाशित: २ पुस २०८२ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App