२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मध्यरात राउटे बस्ती पसेका युवक समातिए, महिलामाथि दुर्व्यवहारको आरोप

लोपोन्मुख राउटे समुदायको बस्तीमा प्रवेश गरेर महिलामाथि दुर्व्यवहार गर्ने एक युवकलाई राउटे समुदायले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ।  

शुक्रबार राति साढे १२ बजेतिर लेकवेशी नगरपालिका–५ नेटाका राजु रजाली राउटे बस्तीमा प्रवेश गरेका थिए। महिला मात्रै भएको छाप्रोमा प्रवेश गरेका उनलाई राउटे युवाहरूले नियन्त्रणमा लिएका थिए। राउटे समुदाय अहिले लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मध्य राति राउटे बस्तीमा प्रवेश गरेका एक युवकलाई नियन्त्रणमा लिइएको बताएको छ। ‘बस्ती प्रवेश गरेका ती युवकलाई राउटे समुदायले नै नियन्त्रणमा लिएको थियो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले भने, ‘शनिबार बिहान बस्तीमै पुगेर हामीले नियन्त्रणमा लिएका छौँ।’ उनले पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको बताए।  

राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले मध्य राति राउटे बस्तीमा प्रवेश गरेर महिलामाथि जवजस्ती गर्न खोजेपछि राउटे युवाहरूले नियन्त्रणमा लिएको बताए। ‘बेलुका राउटे युवतीलाई मदिरा सेवन गर्न लगाएको र राति उनै युवतीको छाप्रोमा प्रवेश गरेपछि ती युवती भागेर आफ्नो दाइको छाप्रोमा गएको देखिन्छ,’ खत्रीले भने, ‘मदिराले मात्तेका युवक पनि युवती गएको छाप्रोमा प्रवेश गरेपछि अन्य राउटे युवाहरूले उनलाई नियन्त्रणमा दिएका छौँ।’  

राउटे युवाले पक्राउ गरेकालाई इलाका प्रहरी कार्यालय लेकवेशीको टोलीले बिहान नियन्त्रणमा लिएको उनले जानकारी दिए। घटनाबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानव अधिकारकर्मीहरूको टोली राउटे बस्तीमा आउँदैछ।

प्रकाशित: २५ आश्विन २०८२ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App